काठमाडौंको बुद्धनगरमा आत्मदाहको प्रयास, अवस्था गम्भीर

डिसी नेपाल
२७ असार २०८३ ९:२१

काठमाडौं। काठमाडौंको बुद्धनगरमा एक पुरुषले आफ्नै शरीरमा आगो लगाई आत्मदाहको प्रयास गरेका छन्। बुद्धनगरस्थित आफ्नै निवासमा ४५ वर्षीय आश्विन राउतले शनिबार बिहान आत्मदाहको प्रयास गरेका हुन्।

काठमाडौं परिसरका प्रहरी प्रवक्ता पवन भट्टराईका अनुसार शनिबार बिहान अन्दाजी सवा ६ बजेको समयमा राउतले घरको भान्सा कोठामा पुगेर आफ्नो शरीरमा प्रज्वलनशील पदार्थ खन्याई आगो लगाएका थिए। घटनाबारे जानकारी पाउनासाथ तत्कालै पुगेको प्रहरी टोलीले स्थानीयको सहयोगमा उनको उद्धार गरेको थियो।

घाइते राउतलाई तत्कालै उपचारका लागि वीर अस्पताल पुर्‍याइएको छ। अस्पतालका चिकित्सकहरूका अनुसार आगोले राउतको शरीरको करिब ५० प्रतिशत भाग जलिसकेकाले उनको अवस्था चिन्ताजनक रहेको छ र बर्न वार्डमा उपचार भइरहेको छ।

राउत आफ्नी श्रीमती र छोरासँग बुद्धनगरमा बस्दै आएका थिए। तर, घटना भएको समयमा उनकी श्रीमती र छोरा दुवै जना घरमा नरहेको प्रहरी प्रवक्ता भट्टराईले जानकारी दिए। बिहानै उनीहरू कहाँ गएका थिए वा घरबाहिरै थिए भन्नेबारे प्रहरीले बुझ्ने प्रयास गरिरहेको छ।

राउतले किन यस्तो आत्मघाती कदम चाले भन्नेबारे ठोस कारण अझै खुलिसकेको छैन। प्रहरीले प्रारम्भिक अनुसन्धान र छिमेकीहरूसँग सोधपुछ गर्दा पारिवारिक विवाद यसको कारण हुनसक्ने अनुमान गरेको छ।

छिमेकीहरूका अनुसार घटनाको अघिल्लो दिन अर्थात् शुक्रबार घाइते आश्विन राउत र उनका छोराबीच भनाभन भएको थियो। सोही पारिवारिक तनाव वा विवादका कारण उनले शनिबार बिहानै आत्मदाहको बाटो रोजेको हुनसक्ने आशंका गरिएको छ। प्रहरीले घटनाको थप कारण पत्ता लगाउन र उनको परिवारका सदस्यहरूसँग सम्पर्क स्थापित गर्न अनुसन्धानलाई तीव्रता दिएको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *