बेकह्याम भावुक: हारले मन दुखायो, तर इङ्गल्यान्डको प्रदर्शनप्रति गर्व
काठमाडौं। फिफा विश्वकप २०२६ को सेमिफाइनलमा अर्जेन्टिनासँग २–१ गोलअन्तरले पराजित भएपछि इङ्गल्यान्डका पूर्वकप्तान डेभिड बेकह्यामले टोलीको हारप्रति निराशा व्यक्त गर्दै खेलाडीहरूको प्रदर्शनप्रति गर्व व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत प्रतिक्रिया दिँदै बेकह्यामले हारले सम्पूर्ण इङ्गल्यान्डवासीको मन दुखाएको भए पनि टोलीले प्रतियोगिताभर देखाएको संघर्ष, समर्पण र सिर्जना गरेका अविस्मरणीय क्षणहरू सधैं सम्झनलायक रहने बताएका छन्।
उनले लेखेका छन्, “यो हारले हामी सबैको मन दुखाएको छ। तर यो विश्वकपले प्रेरणा दिने र सधैं सम्झनामा रहने धेरै सुन्दर सम्झनाहरू दिएको छ। हाम्रो टोली, समर्थक र देशलाई धन्यवाद।”
एटलान्टामा सम्पन्न सेमिफाइनलमा इङ्गल्यान्डले खेलको ५५औँ मिनेटमा एन्थोनी गोर्डनको गोलमार्फत अग्रता बनाएको थियो। मोर्गन रोजर्सको उत्कृष्ट पासलाई सदुपयोग गर्दै गोर्डनले गोल गरेपछि इङ्गल्यान्ड जिततर्फ अघि बढेको देखिएको थियो।
तर अग्रता लिएपछि रक्षात्मक रणनीतिमा उत्रिएको इङ्गल्यान्डमाथि अर्जेन्टिनाले लगातार दबाब सिर्जना गर्यो। त्यसको परिणामस्वरूप खेलको ८५औँ मिनेटमा कप्तान लियोनेल मेस्सीको पासमा एन्जो फर्नान्डेजले बराबरी गोल फर्काउँदै खेललाई १–१ को अवस्थामा पुर्याए।
इन्जुरी समयको अन्तिम क्षणमा मेस्सीले दिएको उत्कृष्ट क्रसलाई लाउटारो मार्टिनेजले हेडमार्फत जाली चुमाउँदै अर्जेन्टिनालाई २–१ को रोमाञ्चक जित दिलाए। यससँगै साविक विजेता अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकपको फाइनलमा प्रवेश गर्न सफल भएको छ।
अब अर्जेन्टिनाले विश्वकप उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ भने पराजित इङ्गल्यान्डले तेस्रो स्थानका लागि फ्रान्ससँग भिड्नेछ।
बेकह्यामको प्रतिक्रिया सामाजिक सञ्जालमा व्यापक रूपमा साझा भइरहेको छ, जहाँ धेरै समर्थकले टोलीको प्रदर्शनको प्रशंसा गर्दै आगामी प्रतियोगितामा अझ बलियो रूपमा फर्किने विश्वास व्यक्त गरेका छन्।






डिसी नेपाल





Facebook Comment