अर्जेन्टिनासँग पराजित भएपछि इङ्ल्याण्डका कप्तानले गरे कोचको आलोचना

डिसी नेपाल
३२ असार २०८३ ११:०५

काठमाडौं । विश्वकपको सेमिफाइनल खेलमा अर्जेन्टिनासँग बेहोरेको निकै कष्टकर पराजयपछि इङ्गल्याण्डका कप्तान ह्यारी केनले बीबीसीसँग कुरा गर्दै आफ्नो गम्भीर असन्तुष्टि पोखेका छन्। खेलको अन्तिम सिट्ठी बजेलगत्तै प्रतिक्रिया दिने क्रममा यी स्टार स्ट्राइकरले मुख्य प्रशिक्षक थोमस टुचेलको रणनीतिक निर्णयप्रति असन्तुष्टि जनाउँदै कडा टिप्पणी गरे।

टोली विश्वकपको फाइनल नजिक पुगेर पनि बाहिरिनु परेपछि निकै भावुक र दुःखी देखिएका केनले खेलको प्राविधिक विश्लेषण गर्दै भने, ‘म पूर्ण रूपमा स्तब्ध र मर्माहत भएको छु। म हाम्रा खेलाडी, खेलकुद कर्मचारी र समर्थकहरू सबैका लागि दुःखी छु। हामीले खेलको अधिकांश समय उत्कृष्ट प्रदर्शन गरेका थियौं, तर १-० को अग्रता बनाएपछि हामीले केवल अग्रता जोगाउने रक्षात्मक खेल मात्र खेल्यौं, जुन यो स्तरको प्रतिस्पर्धामा पर्याप्त हुँदैन।’

कप्तान केनले खेलको दोस्रो हाफमा विपक्षी टोलीलाई दबाबमा राख्न नसक्नु नै पराजयको मुख्य कारण रहेको स्वीकार गरे। उनका अनुसार पहिलो हाफ र दोस्रो हाफको सुरुवाती चरणमा फरवार्ड लाइनले अर्जेन्टिनी डिफेन्समाथि राम्रो दबाब सिर्जना गरेकै कारण बल नियन्त्रणमा राख्न सहज भएको थियो।

तर, इङ्गल्याण्डले गोल गरेलगत्तै अर्जेन्टिनाले आक्रामक रूपमा धेरै खेलाडीहरू अगाडि बढाएपछि इङ्गल्याण्डका खेलाडीहरूले व्यक्तिगत रूपमा उनीहरूको सामना गर्न सकेनन्। विपक्षीको लगातारको आक्रमणलाई रोक्न डिफेन्डरहरूले भरमग्दुर प्रयास गरे तापनि अन्तिम समयमा त्यो रणनीति विफल सावित भयो।

अग्रता लिएपछिको मानसिकता र टोलीको समग्र प्रदर्शनबारे चर्चा गर्दै केनले खेलको जुनसुकै परिस्थितिको सामना गर्न खेलाडीहरू तयार रहने बताए। उनले १-० को स्थितिमा पुगेपछि टोलीलाई आक्रामक खेल जारी राख्दै अर्को गोल थप्ने स्पष्ट सन्देश दिइएको भए तापनि विपक्षीले लगातार दुई गोल गरेपछि खेलको नियन्त्रण गुमेको स्वीकार गरे।

हारका बाबजुद यस विश्वकप प्रतियोगितामा टोलीले धेरै राम्रा खेलहरू पस्किएको र लगातार अर्को सेमिफाइनलसम्मको यात्रा तय गरेर उपाधि नजिक पुग्न सफल भएकोमा उनले सन्तोष व्यक्त गरे।

विश्वकप जस्ता प्रतिष्ठित प्रतियोगिताहरूले खेलाडीहरूबाट उच्च मानसिक दृढता, कडा परिश्रम र दबाबको सामना गर्न सक्ने क्षमताको माग गर्ने उल्लेख गर्दै केनले विगत छ-सात हप्ताको अवधिमा टोलीले यी सबै चुनौतीहरूलाई सफलतापूर्वक सामना गरेको दाबी गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *