‘३९ वर्षको उमेरमा मेस्सीले फाइनल पुर्‍याउनु अविश्वसनीय उपलब्धि हो, उनी जीवित महानायक हुन्’ : प्रशिक्षक स्कालोनी

डिसी नेपाल
२ साउन २०८३ ९:४९

काठमाडौं । अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले कप्तान लियोनेल मेस्सीलाई फुटबल इतिहासका जीवित महानायकको संज्ञा दिँदै ३९ वर्षको उमेरमा पनि अर्को फिफा विश्वकपको फाइनलमा टोलीलाई पुर्‍याउनु अविश्वसनीय उपलब्धि भएको बताएका छन्।

अमेरिकाको न्यु जर्सीमा आइतबार स्पेनविरुद्ध हुने फिफा विश्वकप २०२६ को फाइनल खेलअघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै स्कालोनीले मेस्सीको योगदानको खुलेर प्रशंसा गरे र उनको उपलब्धिको उचित मूल्यांकन हुनुपर्नेमा जोड दिए। उनले ३९ वर्षको उमेरमा पनि मेस्सीले विश्वकप फाइनलसम्म टोलीलाई पुर्‍याउनु ठुलो कुरा भएको बताउँदै उनी फुटबलका जीवित किंवदन्ती भएको र यस टोलीले सबैलाई अविस्मरणीय वर्षहरू दिएको उल्लेख गरे।

लगातार दोस्रो विश्वकप उपाधिको खोजीमा रहेको अर्जेन्टिनाका लागि मेस्सीको नेतृत्व प्रेरणादायी रहेको उल्लेख गर्दै स्कालोनीले फाइनल जित्न टोलीले आफ्नो उत्कृष्ट प्रदर्शन गर्नुपर्ने बताए। उनले अर्जेन्टिनाले प्रत्येक खेलझैँ स्पेनको पनि गहिरो अध्ययन गरेर तयारी गरेको बताउँदै टोलीले आफ्नै क्षमताका आधारमा फाइनलसम्मको यात्रा तय गरेको प्रस्ट पारे।

विपक्षीको सूक्ष्म विश्लेषण गरिएको र जितका लागि आफ्नो उत्कृष्ट खेल खेल्नुपर्ने बताउँदै उनले आफ्नो टोलीको खेल शैलीबारे सबैलाई थाहा भएकाले पनि फाइनलसम्म पुग्नु अझ ठूलो उपलब्धि भएको धारणा राखे। स्कालोनीका अनुसार फाइनल खेलअघि टोलीका सबै खेलाडीहरू पूर्ण रूपमा फिट छन् र अर्जेन्टिना तथा स्पेन दुवै बल नियन्त्रणमा आधारित शैलीमा खेल्ने टोली भएकाले फाइनल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुनेछ।

यसैबीच, अर्जेन्टिनाका भरपर्दा गोलरक्षक एमिलियानो मार्टिनेजले आफ्नो सम्पूर्ण ध्यान विश्वकप उपाधि रक्षा गर्नमै केन्द्रित रहेको बताएका छन्। उनले यसपटकको विश्वकप अघिल्लो संस्करणभन्दा बढी रमाइलो लागेको उल्लेख गर्दै परिवार, टोलीका साथीहरू र अर्जेन्टिनी समर्थकप्रति कृतज्ञता व्यक्त गरे।

आफ्नो ध्यान केवल विश्वकप जित्नमा रहेको र यो टोलीसँग हासिल गरेका उपलब्धिहरू सम्झँदा कहिलेकाहीँ भावुक हुने बताउँदै मार्टिनेजले आइतबार आफू मुस्कानसहित मैदानमा उत्रिने दाबी गरे। अर्जेन्टिनाले आइतबार स्पेनसँग विश्वकप २०२६ को उपाधिका लागि ऐतिहासिक प्रतिस्पर्धा गर्दैछ, जहाँ अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकप जित्ने दाउमा हुनेछ भने स्पेन सन् २०१० पछि पहिलो पटक विश्वकपको ट्रफी उचाल्ने अभियानमा मैदान उत्रिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *