‘फकल्याण्ड विवाद’ मा अर्जेन्टिनालाई अमेरिकाको समर्थन, बेलायतको आपत्ति
काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनल खेलमा इङ्गल्याण्डमाथि विजय हासिल गरेपछि अर्जेन्टिनी फुटबल टोलीले फकल्याण्ड टापु (माल्भिनास) माथि आफ्नो देशको क्षेत्रीय दाबी झल्काउने ब्यानर प्रदर्शन गरेपछि सिर्जना भएको कूटनीतिक विवादमा ह्वाइट हाउस (अमेरिकी राष्ट्रपतिको कार्यालय) ले अर्जेन्टिनी खेलाडीहरूको ‘अभिव्यक्ति स्वतन्त्रता’ को अधिकारको बचाउ गरेको छ।
खेलकुद प्रतियोगितामा राजनीतिक वक्तव्यबाजी वा प्रदर्शन गर्न नपाइने फिफाको नियम उल्लङ्घन गरेको भन्दै अर्जेन्टिनामाथि अनुशासनिक कारबाहीको तयारी भइरहेका बेला अमेरिकाको यस्तो टिप्पणी सार्वजनिक भएको हो।
ह्वाइट हाउस फिफा टास्क फोर्सका प्रमुख एन्ड्र्यू जुलियानीले शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै अर्जेन्टिनी टोलीलाई संयुक्त राज्य अमेरिकाको भूमिमा ‘आफ्नो भनाइ वा विचार राख्ने’ अवसर र स्वतन्त्रता रहेको बताए। अमेरिकी संविधानको पहिलो संशोधनले नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई पूर्ण संरक्षण गर्ने उल्लेख गर्दै जुलियानीले भने, ‘हामी संयुक्त राज्य अमेरिकामा हाम्रो पहिलो संशोधनको अधिकारमाथि विश्वास गर्छौँ।’
अमेरिकी अधिकारीको यो टिप्पणीले लण्डन र ब्युनस आयर्सबीचको विवादलाई थप उकास्ने देखिएको छ, जहाँ बेलायती प्रधानमन्त्रीको कार्यालय (डाउनिंग स्ट्रिट) ले फिफालाई यस घटनाको सूक्ष्म अनुसन्धान गर्न दबाब दिइरहेको छ।
दक्षिण-पश्चिम एटलान्टिक महासागरमा अवस्थित र हाल बेलायती विदेशी क्षेत्रको रूपमा रहेको फकल्याण्ड टापुको सार्वभौमिकतालाई लिएर युनाइटेड किंगडम र अर्जेन्टिनाबीच लामो समयदेखि विवाद कायम छ। अर्जेन्टिनाले यस टापुलाई ‘लास माल्भिनास’ भन्ने गर्दछ।
बुधबार सम्पन्न रोमान्चक सेमिफाइनल खेलमा इङ्गल्याण्डलाई पराजित गरेपछि अर्जेन्टिनी खेलाडीहरूले मैदानमा “लास माल्भिनास सोन अर्जेन्टिनास” अर्थात् “फकल्याण्ड टापु अर्जेन्टिनाको हो” भन्ने नारा लेखिएको ब्यानर प्रदर्शन गरेका थिए।
यस घटनाप्रति बेलायती प्रधानमन्त्रीको आधिकारिक प्रवक्ताले कडा प्रतिक्रिया दिँदै भने, “विश्वकप हाम्रो नभए पनि फकल्याण्ड टापु पक्कै पनि हाम्रै हो। फकल्याण्डप्रतिको हाम्रो प्रतिबद्धता कहिल्यै डगमगाउने छैन।”
डाउनिंग स्ट्रिटले ब्यानर प्रदर्शन गर्ने अर्जेन्टिनी खेलाडीहरूमाथि कारबाही गर्ने विषय फिफाको कार्यक्षेत्रभित्र पर्ने भए पनि व्यापार मन्त्री पिटर काइलको धारणालाई समर्थन गर्दै अन्तर्राष्ट्रिय फुटबल महासंघले यसको गम्भीर छानबिन गर्नुपर्ने माग दोहोर्याएको छ।
यसैबीच, फकल्याण्ड टापुको स्थानीय सरकारले अर्जेन्टिनी टोलीको यस्तो व्यवहारबाट आफूहरू “निराश भएको तर अचम्मित नभएको” बताएको छ। स्थानीय सरकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “हामी खेलकुदमा राजनीति भित्रिएको हेर्न चाहँदैनौँ। न त इङ्गल्याण्ड र अर्जेन्टिनाबीच हुने हरेक फुटबल वार्तामा यस टापु र यहाँका बासिन्दाहरूलाई राजनीतिक फुटबलको रूपमा प्रयोग गरियोस् भन्ने नै हाम्रो चाहना हो।”
सन् २०१३ मा फकल्याण्ड टापुमा भएको दुई दिने ऐतिहासिक जनमतसंग्रहमा ९० प्रतिशतभन्दा बढी मतदान हुँदा खसेको १,५१७ मतमध्ये १,५१३ जनाले बेलायतकै विदेशी क्षेत्रको रूपमा रहने पक्षमा मतदान गरेका थिए भने विपक्षमा केवल ३ मत मात्र खसेको थियो।
अर्जेन्टिनाकी उपराष्ट्रपति भिक्टोरिया भिलार्रुएलले बुधबारको विजयपछि सामाजिक सञ्जाल ‘एक्स’मा अर्जेन्टिनी सैनिकहरूको भिडियो सेयर गर्दै लेखेकी छिन्, “यो केवल एउटा सामान्य खेल मात्र थिएन। फकल्याण्ड अर्जेन्टिनाकै हो। उनीहरूले रंगशालामा यो ब्यानर ल्याउन प्रतिबन्ध लगाएका थिए, तर उनीहरूले के बिर्से भने यो हाम्रो रगत र मुटुमा बगेको छ।”
यसअघि अन्तिम १६ को खेलमा इजिप्टलाई ३-२ ले पराजित गरेपछि पनि अर्जेन्टिनी खेलाडीहरूले फकल्याण्ड युद्ध तथा आफ्ना फुटबल लिजेन्ड डिएगो म्याराडोना र लियोनेल मेस्सीको नाम जोडेर विजयी गीतहरू गाएका थिए।
सन् १९८२ मा यस टापुको स्वामित्वलाई लिएर बेलायत र अर्जेन्टिनाबीच ७४ दिनसम्म चलेको छोटो तर भयानक युद्धमा २५५ बेलायती सैनिक, ३ जना स्थानीय नागरिक र ६४९ अर्जेन्टिनी सैनिकले ज्यान गुमाएका थिए।
त्यसबेला बेलायती सेनाले टापुमा अवतरण गरेका अर्जेन्टिनी सेनालाई सफलतापूर्वक लखेटेको थियो। विश्वकपको मञ्चमा फेरि ब्युँतिएको यो ऐतिहासिक र भूराजनीतिक मुद्दाले खेलकुदको कुटनिक मर्यादामाथि नयाँ बहस सिर्जना गरेको छ।






डिसी नेपाल





Facebook Comment