स्पेनका लागि लक्की मानिएका रेफ्रीले फाइनल खेलाउने
काठमाडौं । उत्तर अमेरिकामा जारी फिफा विश्वकप २०२६ को उपाधि छनोटका लागि आगामी आइतबार न्युयोर्कमा हुने स्पेन र अर्जेन्टिनाबीचको ऐतिहासिक महाभिडन्तका लागि मुख्य रेफ्रीको टुङ्गो लागेको छ।
युरोपेली च्याम्पियन स्पेन र दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिनाबीच विश्वकपको स्वर्ण ट्रफीका लागि हुने यस प्रतिष्ठित खेलमा न्याय सम्पादन गर्ने जिम्मेवारी स्लोभेनियाका ४६ वर्षीय फिफा अन्तर्राष्ट्रिय रेफ्री स्लाभको भिन्चिचलाई दिइएको छ।
सन् २०१० देखि अन्तर्राष्ट्रिय रेफ्रीका रूपमा कार्यरत भिन्चिच फिफा र युइएफएको उच्च मूल्याङ्कन सूचीमा रहेका अनुभवी रेफ्री हुन्। फाइनल खेलमा उनलाई स्लोभेनियाकै सहायक रेफ्रीहरू तोमाज क्लान्चनिक र आन्द्राज कोभासिचले सहयोग गर्नेछन् भने जोर्डनका अधाम माखादमेह चौथो अधिकारीका रूपमा रहनेछन्।
भिन्चिच युइएफएको पहिलो रोजाइका रेफ्री हुन्, जसले यसअघि धेरै प्रतिष्ठित अन्तर्राष्ट्रिय खेलहरू सफलतापूर्वक सञ्चालन गरिसकेका छन्। उनी सन् २०२४ मा लण्डनको वेम्बली रंगशालामा रियल मड्रिड र बोरुसिया डर्टमण्डबीच भएको युइएफए च्याम्पियन्स लिगको फाइनल खेलका मुख्य रेफ्री थिए। यसै सिजनको च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा रियल मड्रिड र बायर्न म्युनिखबीच भएको बहुचर्चित भिडन्त पनि उनकै नेतृत्वमा खेलाइएको थियो।
विश्वकप इतिहासमा भिन्चिचको यो छैटौँ खेल हुनेछ। उनले सन् २०२२ को कतार विश्वकपमा दुई खेल खेलाएका थिए, जसमा अर्जेन्टिना आफ्नो पहिलो खेलमा साउदी अरबविरुद्ध २-१ ले पराजित भएको ऐतिहासिक खेल पनि सामेल छ।
जारी २०२६ को विश्वकपमा उनले यसअघि ब्राजिल विरुद्ध मोरक्को, जोर्डन विरुद्ध अल्जेरिया र मेक्सिको विरुद्ध इक्वेडर गरी तीन खेलहरू सञ्चालन गरिसकेका छन्। इक्वेडर र मेक्सिकोबीचको खेलमा उनले ‘भिनिसियस नियम’ लागू गर्दै इक्वेडरका डिफेन्डर पिएरो हिन्कापिएलाई सिधै रातो कार्ड देखाएर मैदान बाहिर पठाएका थिए।
स्पेनिस राष्ट्रिय टोली (ला रोजा) को खेलमा भिन्चिचले मुख्य रेफ्रीको भूमिका निर्वाह गर्न लागेको यो छैटौँ पटक हो। स्पेनका लागि भिन्चिचको उपस्थिति इतिहासमै निकै सुखद र भाग्यशाली रहँदै आएको छ, किनभने उनको रेफ्रिइङमा स्पेनले हालसम्म कुनै पनि खेल हार्नुपरेको छैन। उनले खेलाएका अघिल्ला पाँच खेलहरूमा स्पेनले तीन जित र दुई बराबरीको नतिजा निकालेको छ।
स्पेनले सन् २०२३ को नेसन्स लिगमा इटालीलाई २-१ ले, यूरो २०२४ मा इटालीलाई १-० ले तथा सोही यूरो कपको सेमिफाइनलमा फ्रान्सलाई २-१ ले पराजित गर्दा भिन्चिच नै मुख्य रेफ्री थिए। यसबाहेक सन् २०१७ मा कोलम्बियासँग २-२ को र यूरो २०२० मा स्वीडेनसँग ०-० को बराबरी खेल पनि उनकै कमान्डमा भएको थियो।
अर्जेन्टिनाको हकमा भने भिन्चिच रेफ्री हुनु निकै ठूलो निराशा मानिन्छ । भिन्चिचले अर्जेन्टिनाको राष्ट्रिय टोली खेलेको एउटा मात्र खेलमा रेफ्रीको भूमिका निभाएका थिए । त्यो खेल विश्वकप इतिहासकै सबैभन्दा ठूलो अपसेट मानिन्छ । २०२२ को कतार विश्वकपमा भिन्चिच रेफ्री हुँदा अर्जेन्टिना आफ्नो पहिलो खेलमा साउदी अरबविरुद्ध २-१ ले पराजित भएको थियो ।
१६ वर्ष लामो अन्तर्राष्ट्रिय खेल जीवनको यात्रापछि ४६ वर्षको उमेरमा भिन्चिच आफ्नो खेल जीवनको सर्वोच्च शिखरमा पुगेका छन्। फिफा रेफ्री कमिटीका अध्यक्ष एवं दिग्गज पूर्वरेफ्री पियरलुइजी कोलिनाले विश्वकपमा सहभागी रेफ्रीहरूको विशेष बैठकमा भिन्चिचको नाम घोषणा गर्दा वातावरण निकै भावुक बनेको थियो।
कोलिनाले भने, “स्वर्ण ब्याज (टप-लेभल स्ट्राइप्स) का साथ विश्वकपको फाइनल खेल खेलाउन पाउनु एक अद्भूत र गौरवशाली क्षण हो। म पक्का छु कि तपाईंहरू मप्रति सहमत हुनुहुन्छ। यो साँच्चै नै भव्य छ र यस पटक स्लाभकोले यो अवसर पाउनु झनै गौरवको कुरा हो।”
फिफाद्वारा आफ्नो नाम घोषणा हुनासाथ भावुक बनेका भिन्चिचले मैदानमै आफ्ना आँसु थाम्न सकेनन्। लामो व्यावसायिक रेफ्रिइङ करियरको यो उच्च सम्मानलाई उनले आफ्नो खेल जीवनको सबैभन्दा ठूलो पुरस्कारका रूपमा लिएका छन्।






डिसी नेपाल





Facebook Comment