विश्वकप फाइनल : अर्जेन्टिना पराजित हुनुका ५ प्रमुख कारणहरू

डिसी नेपाल
४ साउन २०८३ ११:३३

काठमाडौं । उत्तर अमेरिकामा भएको फिफा विश्वकप २०२६ को सनसनीपूर्ण फाइनल खेलमा स्पेनले साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० गोल अन्तरले पराजित गर्दै इतिहासमा दोस्रो पटक पुरुष फुटबल विश्वकपको उपाधि आफ्नो नाममा गरेको छ।

अतिरिक्त समयको १०६ औँ मिनेटमा बैकल्पिक खेलाडी निको विलियम्सको हेडरलाई नियन्त्रणमा लिँदै फेरान टोरेसले नजिकैबाट प्रहार गरेको गोल नै स्पेनलाई विश्वविजेता बनाउन पर्याप्त बन्यो।

१० खेलाडीमा सीमित बनेको अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले सो प्रहार रोक्न सकेनन्। युरोपेली च्याम्पियन स्पेनले समग्र खेलभरि आक्रामक र प्रभावकारी प्रदर्शन गर्दै धेरै अवसरहरू सिर्जना गरेको थियो भने अर्जेन्टिनाको खेल मुख्यतया रक्षात्मक र खेलको गति रोक्ने रणनीतितर्फ केन्द्रित रह्यो।

यस ऐतिहासिक जितसँगै १६ वर्षपछि पुनः पुरुष विश्वकप जितेको स्पेन, एकै समयमा पुरुष र महिला दुवै विधाको विश्वकप उपाधि आफ्नो कब्जामा राख्ने विश्वकै पहिलो राष्ट्र बनेको छ।

खेलकुद विश्लेषकहरूका अनुसार धेरै अपेक्षा गरिएको यो फाइनल खेल मैदानभित्र भने पटक-पटकको अवरोध र कडा फउलका कारण सोचेजति रोमाञ्चक हुन सकेन। तर मैदान बाहिर भने यसको रौनक अद्भूत थियो।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प हेलिकप्टरको विशेष उडानबाट न्यूजर्सी आइपुगेका थिए भने विश्वकप इतिहासमै पहिलो पटक मध्यान्तरमा ‘हाफ-टाइम शो’ आयोजना गरियो। मडोना, शाकिरा र जस्टिन बिबर जस्ता विश्वप्रसिद्ध गायकहरूले प्रस्तुति दिएका कारण मध्यान्तरको विश्राम सामान्य १५ मिनेटको सट्टा २७ मिनेट लम्बिएको थियो।

निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न सकेनन्। पहिलो हाफमा स्पेनका लामिने यामाल र मिकेल ओयारजाबालका उत्कृष्ट प्रहारहरूलाई अर्जेन्टिनी गोलरक्षक एमिलियानो मार्टिनेजले असफल पारिदिए।

स्लोभेनियाका रेफ्री स्लाभको भिन्चिचका केही निर्णयहरूप्रति स्पेनिस खेलाडीहरूले आक्रोश पोखेका थिए। इञ्जुरी समयमा अर्जेन्टिनाका मिडफिल्डर एन्जो फर्नान्डेजले स्पेनका युवा डिफेन्डर पाउ कुबार्सीमाथि गरेको गम्भीर फउलका कारण दोस्रो पहेँलो कार्ड (रातो कार्ड) खाँदै मैदान बाहिरिएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित हुन पुग्यो।

अर्जेन्टिना पराजित हुनुका ५ प्रमुख कारणहरू यस्ता रहे ।

१. लियोनेल मेस्सीमाथि अत्यधिक निर्भरता

फाइनल अघिसम्म प्रतियोगिताभरि ८ गोल गरिसकेका अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीलाई स्पेनिस डिफेन्डरहरूले पूर्ण रूपमा निस्क्रिय पारे। मेस्सीले खेलभरि गोल त परै जाओस्, केवल एउटा मात्र प्रहार गर्न सके र त्यो पनि गोलपोस्टको निशानामा थिएन। यदि यो मेस्सीको विश्वकप करियरको अन्तिम खेल हो भने, यसको अन्त्य निराशाजनक रहन पुग्यो।

२. अत्यधिक रक्षात्मक रणनीति

आक्रामक खेलका लागि परिचित अर्जेन्टिनाले यस खेलमा स्पेनको स्वाभाविक लय बिगार्न अत्यधिक रक्षात्मक रणनीति अपनायो। गोलरक्षक एमिलियानो ‘डिबु’ मार्टिनेजले उत्कृष्ट बचाउ नगरेको भए स्पेनको जितको अन्तर अझ फराकिलो हुन सक्थ्यो। निर्धारित समयको अन्तिम क्षणमा जुलियानो सिमोनेका दुई खतरनाक आक्रमण गोलमा परिणत हुन नसक्दा अर्जेन्टिना जित निकाल्नबाट चुक्यो।

३. स्पेनको मिडफिल्डको पूर्ण दबदबा

प्रतियोगिताभरि झैँ फाइनलमा पनि स्पेनको मिडफिल्डले खेलको गतिलाई पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राख्यो। रोड्री र पेड्रीको समन्वयमा स्पेनले छिटो पासिङ मात्र गरेन, अर्जेन्टिनाबाट बल खोस्न र दबाब बनाउन पनि सफलता हासिल गर्‍यो।

४. एक खेलाडीको कमी र चोटको धक्का

दोस्रो हाफको इञ्जुरी समयमा एन्जो फर्नान्डेजले रातो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भयो। सम्पूर्ण प्रतियोगितामा केवल एक गोल मात्र खाएको शक्तिशाली स्पेनिस टोलीविरुद्ध १० खेलाडीले खेल्नु अर्जेन्टिनाका लागि घातक साबित भयो। यसबाहेक, पहिलो हाफमै प्रमुख डिफेन्डर लिसान्द्रो मार्टिनेज घाइते भई मैदान छाड्नु अर्जेन्टिनाका लागि अर्को ठूलो झट्का बन्यो।

५. स्पेनको अभूतपूर्व ‘टिम स्प्रिट’

स्पेनसँग किलियन एम्बाप्पे, लियोनेल मेस्सी वा क्रिस्टियानो रोनाल्डो जस्ता एकल सुपरस्टार नभए तापनि उनीहरूसँग एकताबद्ध भई खेल्ने एउटा उत्कृष्ट टोली छ। मिकेल ओयारजाबाल, रोड्री, पेड्री, मार्क कुकुरेला र वैकल्पिक खेलाडीका रूपमा प्रभाव छाड्ने मिकेल मेरिनोको सामूहिक योगदान नै स्पेनको सफलताको आधार बन्यो। सन् २०२२ मा कतार विश्वकपको निराशाजनक बहिर्गमनपछि टोलीको कमान्ड सम्हालेका मुख्य प्रशिक्षक लुइस दे ला फुएन्टेको कुशल नेतृत्वमा स्पेन पुनः विश्व फुटबलको सर्वोच्च शिखरमा पुग्न सफल भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *