बजाज मोटरसाइकलको किस्ता र ब्याजदर घट्यो, ५ वर्षसम्मको फाइनान्सिङ सुविधा उपलब्ध
काठमाडौँ। नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकहरूका लागि मोटरसाइकल खरिद प्रक्रियालाई अझ सहज र किफायती बनाउने उद्देश्यले नयाँ फाइनान्सिङ सुविधा सार्वजनिक गरेको छ।
कम्पनीले हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल) सँगको सहकार्यमा यो सुविधा सञ्चालनमा ल्याएको हो। नयाँ व्यवस्थाअनुसार अब ग्राहकले बजाजका मोटरसाइकल खरिद गर्दा ३ वर्षको सट्टा अधिकतम ५ वर्ष (६० महिना) सम्मको अवधि पाउने गरी ऋण सुविधा उपयोग गर्न सक्नेछन्।
यसका साथै ब्याजदरलाई पनि ९.९९ प्रतिशतबाट घटाएर ८.९९ प्रतिशत कायम गरिएको छ। अवधि थपिनुका साथै ब्याजदर समेत घटेकाले मासिक किस्ता (ईएमआई) मा उल्लेख्य कमी आई पहिलो पटक सवारी साधन खरिद गर्ने युवा, जागिरे तथा परिवारहरूलाई बजाजको स्वामित्व लिन थप सहज हुनेछ।
यो फाइनान्सिङ योजना प्लाटिना १०० इएसदेखि डोमिनार ४०० सम्मका सम्पूर्ण बजाज मोटरसाइकलहरूमा लागू हुनेछ। नयाँ दरअनुसार प्लाटिना १०० इएसको मासिक किस्ता करिब ३ हजार २ सय ५५ रुपैयाँबाट घटेर २ हजार १ सय २४ रुपैयाँमा झरेको छ, जसबाट ग्राहकले प्रतिमहिना करिब १ हजार १ सय ३१ रुपैयाँ बचत गर्न सक्नेछन्।
त्यसैगरी, डोमिनार ४०० को मासिक किस्ता करिब ८ हजार २ सय २७ रुपैयाँबाट घटेर ५ हजार ३ सय ७० रुपैयाँ पुगेको छ, जसले ग्राहकलाई मासिक करिब २ हजार ८ सय ५७ रुपैयाँसम्मको बचत दिलाउनेछ।
यसबाहेक पल्सर १२५, पल्सर एन१२५, पल्सर १५०, पल्सर एन१५०, पल्सर एन१६०, पल्सर २२०एफ, पल्सर २००एनएस, पल्सर एन२५० तथा एनएस४००जेड लगायतका सम्पूर्ण मोडलहरूमा पनि किस्ता रकम उल्लेख्य रूपमा घटाइएको छ।
कम्पनीका अनुसार यो कुनै सीमित अवधिको छुट योजना नभई ग्राहकको आर्थिक भार कम गराई मोटरसाइकलको स्वामित्वलाई अझ पहुँचयोग्य बनाउने दीर्घकालीन प्रयास हो।
गाडीको कुल मूल्यभन्दा पनि धेरैका लागि मासिक किस्ता भुक्तानी चुनौतीपूर्ण बन्ने यथार्थलाई ध्यानमा राखेर ऋणको अवधि विस्तार र ब्याजदर कटौतीको निर्णय गरिएको एचएच बजाजले जनाएको छ।
नेपाल राष्ट्र बैंकको नियमनभित्र रहेको हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडमार्फत उपलब्ध गराइने यो सुविधा देशभरका जुनसुकै एचएच बजाज शोरुमहरूबाट प्राप्त गर्न सकिनेछ। कम्पनीले आगामी दिनहरूमा पनि बजारको माग र ग्राहकको आवश्यकता अनुसार यस्ता ग्राहकमैत्री योजनाहरू निरन्तर ल्याउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ।






डिसी नेपाल





Facebook Comment