प्रतिक्रेट ५० रुपैयाँले बढ्यो अन्डाको भाउ

डिसी नेपाल
५ साउन २०८३ १६:४७

काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले साउन लागेको चार दिनको फरकमा दुई पटक अन्डाको मूल्य वृद्धि गरेको छ। देशैभरिका अन्डा उत्पादक किसानको परामर्श र सिफारिसका आधारमा संघले प्रतिक्रेट अन्डाको भाउ ५० रुपैयाँले बढाउने निर्णय गरेको हो।

संघले पहिलो पटक साउन १ गते बैठक बसी साउन २ देखि लागू हुने गरी मूल्य बढाएको थियो भने त्यसको चार दिन नबित्दै साउन ५ मा अर्को बैठक डाकेर साउन ६ देखि लागू हुने गरी पुनः मूल्यवृद्धि गरेको छ।

पछिल्लो संशोधित दर अनुसार एक्सएल अन्डाको फार्म मूल्य प्रतिक्रेट ४ सय ६५ रुपैयाँबाट बढाएर ५ सय १५ रुपैयाँ पुर्‍याइएको छ भने ४ सय ५० रुपैयाँमा बिक्री भइरहेको ठूलो अन्डाको मूल्यवृद्धि गरी ५ सय रुपैयाँ कायम गरिएको छ।

त्यसैगरी ४ सय २० रुपैयाँ रहेको मिडियम अन्डाको भाउ ४ सय ७० रुपैयाँ पुगेको छ भने सानो अन्डाको मूल्यमा प्रतिपेटी २ सय वृद्धि भई २ हजार ९ सय रुपैयाँ कायम भएको छ।

सबै प्रकारका अन्डाको फार्म मूल्यमा प्रतिक्रेट ५० रुपैयाँसम्म वृद्धि भएपछि अब उपभोक्ताका लागि प्रतिगोटा अन्डाको खुद्रा मूल्य २५ रुपैयाँ तोकिएको छ। संघका सचिव मदन पोखरेलले बढ्दो लागत मूल्य र बजारको अवस्थालाई मध्यनजर गर्दै किसानको हितका लागि यो नयाँ समर्थन मूल्य तय गरिएको बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *