अब हरेक दिन एक जना नेपाली लखपति, महिनामा दुई जनालाई बम्परमा १०-१० लाख!
काठमाडाैं। नेपाल सरकार, अर्थ मन्त्रालयले वस्तु तथा सेवा खरिद-बिक्रीमा अनिवार्य रूपमा बिल/बीजक लिने-दिने संस्कृतिको विकास गर्न र कर अनुपालन अभिवृद्धि गर्ने उद्देश्यका साथ “करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३” जारी गरी लागू गरेको छ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ६५ ले दिएको अधिकार प्रयोग गरी बनाइएको यो कार्यविधि आन्तरिक राजस्व विभागमार्फत कार्यान्वयनमा आउनेछ।
यस कार्यक्रममा नेपालभित्र आफ्नो व्यक्तिगत प्रयोगका लागि एक पटकमा कम्तीमा एक सय रुपैयाँभन्दा बढीको वस्तु वा सेवा खरिद गर्ने जुनसुकै अन्तिम उपभोक्ता सहभागी हुन योग्य हुनेछन्।
भुक्तानी सेवा प्रदायकमार्फत विद्युतीय माध्यमबाट गरिएको खरिद कार्यक्रममा स्वतः समावेश हुने व्यवस्था गरिएको छ। यदि नगद वा अन्य माध्यमबाट खरिद गरिएको छ भने उपभोक्ताले विभागको वेब पोर्टल वा मोबाइल एपमा बीजक नम्बर, बिक्रेताको स्थायी लेखा नम्बर, मिति, रकम र आफ्नो विवरण प्रविष्ट गरी भाग लिन सक्नेछन्।
तर व्यावसायिक प्रयोजनका लागि गरिएका खरिद, सरकारी वा सार्वजनिक निकायका नाममा जारी बीजक, टेलिफोन, इन्टरनेट, बिजुली, सवारी साधन तथा हवाई टिकटका बीजक भने यस कार्यक्रममा समावेश हुने छैनन्।
स्वचालित विद्युतीय प्रणालीमार्फत प्रत्येक महिनाको १ गते र १६ गते विजेता उपभोक्ताहरूको छनोट गरिनेछ। यस प्रक्रियाबाट प्रत्येक दिनका लागि एक जना दैनिक विजेता र पाक्षिक रूपमा एक जना बम्पर विजेता छनोट हुनेछन्।
दैनिक विजेतालाई १ लाख ३३ हजार ३ सय ३४ रुपैयाँ र पाक्षिक बम्पर विजेतालाई १० लाख रुपैयाँ पुरस्कार रकम प्रदान गरिनेछ। उक्त उपहार रकमबाट नियमानुसार २५ प्रतिशत आकस्मिक लाभ कर कट्टा गरी बाँकी रकम विजेताको बैंक खातामा सोझै भुक्तानी गरिनेछ।
पुरस्कार प्राप्तिका लागि विजेताले नतिजा घोषणा भएको १५ दिनभित्र सक्कल बीजक, आधिकारिक परिचयपत्र, बैंक खाता विवरण र प्यान नम्बरसहित नजिकैको आन्तरिक राजस्व कार्यालयमा निवेदन दिनुपर्नेछ।
तोकिएको समयभित्र दाबी गर्न नआएमा उक्त उपहार रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने व्यवस्था कार्यविधिमा छ। यदि कसैले झुट्टा वा किर्ते कागजात पेश गरेमा प्रचलित कानूनबमोजिम कारबाही गरिनेछ।






डिसी नेपाल





Facebook Comment