कतारमा मैत्रीपूर्ण कम्युनिटी महिला भलिबल प्रतियोगिता, १७ सदस्यीय नेपाली महिला टोली मैदानमा

डिसी नेपाल
८ साउन २०८३ १३:१२

दोहा। कतारको श्रम सहकार्य तथा बिमा कोषको आयोजनामा शुक्रबारदेखि सुरु भएको ‘मैत्रीपूर्ण कम्युनिटी महिला भलिबल प्रतियोगिता-२०२६’ मा नेपाली महिला टोलीले सहभागिता जनाएको छ। प्रतियोगिताका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए एनसिसी) कतारको समन्वयमा १७ सदस्यीय नेपाली टोली गठन गरिएको हो।

प्रतियोगिताअघि बिहीबार साँझ आयोजित परिचयात्मक कार्यक्रम, जर्सी हस्तान्तरण तथा जिम्मेवारी बाँडफाँड समारोहमार्फत टोलीको औपचारिक घोषणा गर्नुका साथै खेलाडीहरूलाई आधिकारिक जर्सी प्रदान गरिएको थियो।

घोषित नेपाली टोलीमा निशा पराजुली टोली संयोजक, विष्णु खत्री टोली व्यवस्थापक र सागर बि.के. प्रशिक्षक रहेका छन्। त्यसैगरी टोलीको कप्तानमा कोसेली रोखा मगर र उपकप्तानमा रबुका श्रेष्ठ चयन भएका छन्।

अन्य खेलाडी सदस्यहरूमा कल्पना घर्ती, इन्दिरा शाह, आशिक बि.के., वर्षा जलारी, जुना कुँवर खत्री, रोजिना गुरुङ, करुण खड्का, गंगा गुरुङ, भीमकुमारी के.सी., सरिता तामाङ, आकांक्षा मगर र देवी बि.के. रहेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनए एनसिसी कतारका खेलकुद संयोजक राजन चापागाईँले कतारमा रहेका नेपाली संघ-संस्थाहरूले कला, संस्कृति र सामाजिक गतिविधिसँगै खेलकुदमार्फत पनि नेपालको पहिचानलाई अन्तर्राष्ट्रिय समुदायमा स्थापित गर्न ठूलो योगदान पुर्‍याइरहेको बताए।

विगतमा कम्युनिटी लिगअन्तर्गत पुरुष फुटबल र भलिबलमा नेपाली टोलीले सहभागिता जनाइसकेको उल्लेख गर्दै यसपटक महिला भलिबल टोलीको सहभागिताले थप उत्साह थपेको धारणा उनले व्यक्त गरे।

कार्यक्रममा एनआरएनए एनसिसी कतारका अध्यक्ष कृष्ण पन्थीले हार वा जित खेलको स्वाभाविक पक्ष भएको उल्लेख गर्दै आत्मविश्वास, अनुशासन र टिमभावनाका साथ उत्कृष्ट प्रदर्शन गर्न सम्पूर्ण खेलाडीहरूलाई शुभकामना दिए।

महासचिव शिव भुजेलले सञ्चालन गरेको उक्त कार्यक्रममा विभिन्न नेपाली संघ-संस्था, प्रदेश तथा जिल्ला संस्थाका प्रतिनिधि, समाजसेवी र सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

आयोजकका अनुसार प्रतियोगिता शुक्रबार बिहान अल सादस्थित अली बिन हमद अल अतिया एरिनाको इन्डोर हलमा सञ्चालन हुनेछ। खेल प्रत्यक्ष अवलोकन गर्न आउने दर्शक तथा समर्थकहरूका लागि गेट नम्बर-२ बाट प्रवेशको व्यवस्था मिलाइएको छ  एनआरएनए एनसिसी कतारले प्रतियोगितामा सहभागी नेपाली महिला टोलीले उत्कृष्ट खेल प्रदर्शन गर्दै नेपालको गौरवलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *