मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक : ९ वटा विधेयक संसद्‍मा पेस गर्न स्वीकृत

डिसी नेपाल
१३ साउन २०८३ १७:३६

सरकारले विभिन्न ९ वटा विधेयक संघीय संसद्‌मा पेस गर्न स्वीकृति दिने लगायतका मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ।

सरकारका प्रवक्ता सस्मित पोखरेलले बुधबार बसेको मन्त्रिपरिषद् बैठकलगत्तै यी निर्णयहरू सार्वजनिक गरेका हुन्।

बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधासम्बन्धी ऐन–२०५३ लाई संशोधन गर्न बनेको विधेयक, खानी तथा खनिज पदार्थ सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, र संक्रामक पशुरोग तथा नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिएको छ।

त्यसैगरी, राहदानी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण पहिलो संशोधन विधेयक, बालश्रम निषेध तथा नियमित गर्न बनेको सम्बन्धी विधेयक, आन्तरिक वायुसेवाको दायित्वसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, मेलमिलापसम्बन्धी ऐन २०६८ लाई संशोधन गर्न बनेको विधेयक र कर्मचारी संशोधन ऐन २०१९ लाई संशोधन गर्न बनेको विधेयकलाई पनि संसद्मा पेस गर्ने निर्णय भएको छ।

विधेयकहरूप्रति स्वीकृति प्रदान गर्नुका साथै सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनियमसम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने निर्णय गरेको छ।

यसका साथै, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य पदमा सिन्धुलीका ऐडराज दाहाललाई मनोनयन गर्ने र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् छैटौं संशोधन नियमावली–२०८३ स्वीकृत गर्ने निर्णयसमेत मन्त्रिपरिषद् बैठकले गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *