विश्वप्रसिद्ध गढीमाई मन्दिरमा चोरी : चाँदीको मुकुट र सुनका गहनासहित ४ थान बहुमूल्य सामग्री गायब

डिसी नेपाल
१३ साउन २०८३ १७:५९

रौतहट। बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित विश्वप्रसिद्ध धार्मिक पर्यटकीय स्थल गढीमाई मन्दिरमा ताला तोडेर बहुमूल्य गहनाहरू चोरी भएको छ।

गत साउन १० गते आइतबार राति अज्ञात समूहले मन्दिरको मूल ढोकाको ताला फुटाई मुख्य देवीको मूर्तिमा रहेका ४ थान बहुमूल्य गहनाहरू चोरी गरेको घटना सार्वजनिक भएको हो।

धार्मिक आस्थाको केन्द्र रहेको गढीमाई मन्दिर जस्तो संवेदनशील र सुरक्षित मानिने स्थानमा भएको यो चोरीको घटनाले स्थानीयवासी, धार्मिक संघसंस्था र सर्वसाधारणमा गम्भीर चिन्ता र आक्रोश पैदा गरेको छ।

घटना घटेको चार दिनपछि मन्दिरका मूल पुजारी शिव चौधरीले चोरी भएका गहनाहरूको आधिकारिक विवरण सार्वजनिक गरेका हुन्।

मूल पुजारी चौधरीका अनुसार चोरहरूले मन्दिर भित्र प्रवेश गरी मुख्य देवीलाई चढाइएका ४ थान बहुमूल्य गहनाहरू चोरेर लगेका छन्।

देवीको शिरमा रहने चाँदीको मुख्य मुकुट (टोप), सुनको जलप लगाइएको चाँदीको ऐतिहासिक हार, देवीको गलामा सजाइएको सुनको परम्परागत तिलहरी र मुख्य पूजाआजामा प्रयोग गरिने सुनको हार चोरी भएको उनले जानकारी दिए।

मूल पुजारी चौधरीले मन्दिरको सुरक्षा संवेदनशीलतामाथि प्रश्न उठाउँदै घटनाको निष्पक्ष र सुक्ष्म छानबिन गर्न माग गरेका छन्।

उनले दोषीको तत्काल पहिचान गरी कडाभन्दा कडा कानुनी कारबाही गर्न र चोरी भएका बहुमूल्य धार्मिक गहनाहरू यथाशक्य चाँडो बरामद गर्न स्थानीय प्रशासन र प्रहरीसँग जोडदार माग गरेका छन।

घटनाबारे जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय बारा र मातहतका प्रहरी टोलीहरू अनुसन्धानमा जुटेका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरका अनुसार मन्दिर परिसर तथा आसपासका क्षेत्रमा जडान गरिएका सिसिटिभी (ऋऋत्ख्) क्यामराहरूको फुटेज संकलन गरी सूक्ष्म विश्लेषण भइरहेको छ।

एसपी कुँवरले भने, ‘हामीले सिसिटिभी क्यामराको फुटेजलाई मुख्य आधार बनाएर अनुसन्धान अगाडि बढाएका छौँ। शंकास्पद व्यक्ति माथि निगरानी बढाइएको छ।’

यद्यपि, घटनामा संलग्न वास्तविक अपराधीहरूको पहिचान भने अझै खुल्न सकेको छैन। प्रहरीले दोषीको खोजी कार्य तथा प्रमाण संकलनको कामलाई अत्यन्त तीव्र गतिमा अघि बढाइएको र चाँडै नै अपराधीहरू कानुनी दायरामा आउने दाबी गरेको छ।

नेपाल र भारत मात्र नभई विश्वभरका हिन्दू धर्मावलम्बीहरूको महान् आस्थाको केन्द्रका रूपमा रहेको गढीमाई मन्दिरमा भएको यो घटनाले आम जनमानसमा चिन्ता उत्पन्न गराएको छ।

हरेक पाँच वर्षमा लाग्ने विश्वकै ठूलो बलिमेलाका रूपमा परिचित यस मन्दिरको सुरक्षा व्यवस्थामा भएको यस्तो गम्भीर कमजोरीप्रति स्थानीय सरोकारवालाहरूले असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले घटनाको सत्यतथ्य तत्काल सार्वजनिक गर्न र मन्दिरको सुरक्षालाई दीर्घकालीन रूपमा भरपर्दो बनाउन माग गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *