ब्याटिङ र फिल्डिङ चल्न नसकेको कप्तान रोहित पौडेलको स्वीकारोक्ति

डिसी नेपाल
१५ साउन २०८३ १८:३१

काठमाडाैं। आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा आयोजित एकदिवसीय (ओडीआई) त्रिकोणात्मक शृङ्खला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ।

शुक्रबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कप्तान रोहित पौडेलले भ्रमणमा टोलीले लक्ष्यअनुसारको नतिजा निकाल्न नसकेको भन्दै निराशा व्यक्त गरे।

विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कप्तान पौडेलले टोलीको बलिङ प्रदर्शन सन्तोषजनक रहे पनि ब्याटिङ र फिल्डिङ अपेक्षाभन्दा धेरै कमजोर रहेको बताए। ब्याटिङमा आवश्यक आक्रामकताको कमी हुनु र निर्णायक क्षणहरूमा महत्त्वपूर्ण क्याचहरू छुट्नु नै हारको मुख्य कारण बनेको उनको भनाइ थियो।

युरोपेली र नेपालको घरेलु विकेटको परिस्थितिमा निकै अन्तर रहेकाले टोलीले त्यहाँको वातावरणसँग अनुकूलन हुन समस्या झेल्नुपरेको तथा प्रतिद्वन्द्वी टोलीहरूले फालेका सर्ट बलहरूलाई प्रभावकारी रूपमा प्रहार गर्न नसक्दा ब्याटिङ लाइनअप धराशायी बनेको उनले स्वीकारे।

चारवटै खेलमा ब्याटिङ र फिल्डिङ कमजोर रहँदा त्यसको प्रत्यक्ष असर अंक तालिकामा परेको कप्तान रोहितले उल्लेख गरे। यदि दुई खेल मात्र जित्न सकेको भए नेपाल अंक तालिकाको पाँचौँ स्थानमा उक्लने सम्भावना रहेकोमा हाल टोली छैटौँ स्थानमा नै खुम्चिनुपरेको जानकारी उनले दिए।

नेदरल्यान्ड्स शृङ्खलाबाट पाठ सिक्दै अब आगामी प्रतियोगिताहरूमा ध्यान केन्द्रित गरिने उनले बताए। अन्तर्राष्ट्रिय क्रिकेटमा हरेक चुनौतीको सामना गर्न मानसिक रूपमा अझ बलियो बन्नुपर्ने आवश्यकता औँल्याउँदै कप्तान पौडेलले अब ओमानमा हुने अन्तिम शृङ्खलामा उत्कृष्ट प्रदर्शन गर्दै नेपालको ओडीआई (एकदिवसीय अन्तर्राष्ट्रिय) मान्यता जोगाउनु नै टोलीको मुख्य लक्ष्य रहने स्पष्ट पारे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *