पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि मेन्टेन एफसीलाई, पेनाल्टी सुटआउटमा होराक पराजित

डिसी नेपाल
१७ साउन २०८३ १९:५८

काठमाडौँ। पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को पहिलो संस्करणको उपाधि मेन्टेन एफसीले जितेको छ।

बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक फाइनल खेलमा मेन्टेन एफसीले होराक एफसीलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै उपाधि चुमेको हो। उपाधिसँगै होराक एफसी भने उपविजेतामा सीमित बनेको छ।

अत्यन्तै प्रतिस्पर्धात्मक बनेको फाइनल खेलको दोस्रो मिनेटमै सन्दीप कार्कीको गोलमार्फत होराकले सुरुवाती अग्रता लिएको थियो। लगत्तै मेन्टेनका रविन चौलागाईंले गोल फर्काउँदै खेल बराबरीमा ल्याएका थिए। तर खेलको नवौँ मिनेटमा होराकका सैलेन्द्र मगरले पुनः गोल गरेपछि पहिलो हाफमा होराक २-१ ले अघि रह्यो।

दोस्रो हाफको अन्तिम मिनेटमा होराकले अर्को गोल गर्दै ३-१ को बलियो अग्रता बनाए पनि मेन्टेनका योगेश श्रेष्ठले टोलीको उत्कृष्ट पुनरागमन गराए। योगेशले खेलको अन्तिम समयमा लगातार दुई गोल गर्दै खेललाई ३-३ को बराबरीमा पुर्‍याएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो, जहाँ मेन्टेनले बाजी मार्‍यो।

साउन १५ देखि १७ गतेसम्म आयोजित प्रतियोगितामा कुल ३२ टोलीको सहभागिता रहेको थियो। क्वार्टरफाइनल चरणमा नोबेल फुटबल एकेडेमीलाई २–० ले हराउँदै मेन्टेन तथा डाइनामिक एफसीलाई ३-१ ले हराउँदै होराक अघि बढेका थिए।

त्यस्तै अन्य क्वार्टरफाइनलमा ठमेल ११ ले एभरेस्ट एफसीलाई ३-१ र रोयल नेपालले करुणा एफसीलाई ४-० ले पराजित गरेका थिए। सेमिफाइनलमा होराकले ठमेल ११ लाई ३-० ले र मेन्टेनले पेनाल्टी सुटआउटमा रोयल नेपाललाई ३-१ ले हराउँदै फाइनल यात्रा तय गरेका थिए। तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा ठमेल ११ ले रोयल नेपाललाई २-१ ले पराजित गर्‍यो।

उपाधिसँगै विजेता मेन्टेन एफसीले नगद रु १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता होराक एफसीले रु ५१ हजार १ सय ११ र तेस्रो स्थान हासिल गरेको ठमेल ११ ले रु २१ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार पाएका छन्।

विधागततर्फ उत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी र सर्वोत्कृष्ट टोलीलाई पनि पुरस्कृत गरिएको थियो। आयोजक पेसएक्स स्पोर्ट्सले आगामी दिनमा पनि यस्ता विभिन्न खेलकुद प्रतियोगिताहरू निरन्तर आयोजना गर्दै जाने जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *