एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता फेब्रुअरी २२ देखि मार्च २३ सम्म हुने

डिसी नेपाल
२० साउन २०८३ १९:१८

काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२७ को एकदिवसीय विश्वकप छनोट प्रतियोगिता फेब्रुअरी २२ देखि मार्च २३ सम्म सञ्चालन गर्ने भएको छ। प्रतियोगिताको मिति तय भए पनि आयोजना हुने स्थान भने अझै टुङ्गो लागेको छैन।

आईसीसीले यस वर्ष सार्वजनिक गरेको नयाँ विश्वकप संरचनाअनुसार १० टोली सहभागी हुने छनोट प्रतियोगिताको विजेताले १४ टोली सहभागी हुने विश्वकपको मुख्य चरणमा सिधै स्थान बनाउनेछ। दोस्रो, तेस्रो र चौथो स्थानमा रहने टोलीले ‘सुपर सिरिज’ खेल्नेछन्, जहाँ शीर्ष स्थान हासिल गर्ने टोलीले मुख्य १२ टोलीको चरणमा प्रवेश गर्नेछ। विश्वकप भने अक्टोबर ४ देखि नोभेम्बर २१ सम्म दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियाका १२ मैदानमा आयोजना हुनेछ।

छनोट प्रतियोगितामा सेप्टेम्बर ३०, २०२६ सम्मको एकदिवसीय वरीयताअनुसार आयोजक दक्षिण अफ्रिका र जिम्बाब्वेबाहेक सबैभन्दा पुछारमा रहेका दुई पूर्ण सदस्य राष्ट्र, विश्वकप लिग–२ का शीर्ष चार टोली तथा विश्वकप छनोट प्लेअफबाट छनोट हुने चार टोलीले सहभागिता जनाउनेछन्।

प्लेअफमा लिग-२ का पुछारका चार टोलीसँगै च्यालेन्ज लिगका चार टोलीबीच प्रतिस्पर्धा हुनेछ। च्यालेन्ज लिगमा १२ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ र प्रत्येक समूहका शीर्ष दुई टोली प्लेअफमा पुग्नेछन्। प्लेअफको ढाँचा भने अझै सार्वजनिक गरिएको छैन।

यसबीच दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिज पुनः छनोट खेल्नुपर्ने जोखिममा परेको छ। हाल एकदिवसीय वरीयताको १०औँ स्थानमा रहेको वेस्ट इन्डिजले कटअफअघि भारतसँग दुई एकदिवसीय खेल मात्रै खेल्नेछ। अफगानिस्तान र आयरल्यान्डबीच हुने शृंखलाको नतिजाले पनि उसको वरीयतामा प्रभाव पार्नेछ।

आयरल्यान्डले अफगानिस्तानलाई ४-१ वा ५-० ले पराजित गरे र वेस्ट इन्डिजले भारतविरुद्ध दुवै खेल जिते शीर्ष आठमा पुग्ने सम्भावना रहनेछ। तर अफगानिस्तानले सिरिज जिते वेस्ट इन्डिजले विश्वकपमा स्थान बनाउन फेरि छनोट प्रतियोगिता खेल्नुपर्ने लगभग निश्चित हुनेछ।

वेस्ट इन्डिजले यसअघि पनि सन् २०२३ को एकदिवसीय विश्वकप गुमाएको थियो। हरारेमा भएको छनोट प्रतियोगितामा नेदरल्यान्ड्ससँग ‘सुपर ओभर’मा पराजित भएपछि वेस्ट इन्डिज विश्वकपमा स्थान बनाउन असफल भएको थियो।

हाल विश्वकप लिग- २ खेलिरहेको नेपाल भने शिर्ष चारमा परेर विश्वकपको छनौट खेल्ने अवसर गुमाएको छ भने अब प्लेअफ खेल्दै छनौटको अवसर भने बाँकी रहेको छ। लिग- २ मा नेपालले अब चार खेल खेल्न बाँकी रहेको अवस्थामा ३२ खेलमा २४ अंकसहित छैटौं स्थानमा रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *