कैयौं दिनसम्म पोखरीको पानीभित्रै बस्न बाध्य १६ वर्षीय इकबाल
काठमाडौं । १६ वर्षीय इकबाल शेख यतिबेला आफ्नो असामान्य जीवनशैलीका कारण चर्चाको विषय बनेका छन्। एक-दुई दिन मात्र होइन, उनी लगातार चार देखि पाँच दिन र कहिलेकाहीँ त सात दिनसम्म पनि पानीभित्रै बसेर समय बिताउने गर्छन्। त्यसैले स्थानीय बासिन्दाहरू उनका लागि ‘जल नै जीवन’ मात्र होइन, ‘जलमै जीवन’ रहेको बताउँछन्।
भारतको पश्चिम बङ्गालस्थित मुर्शिदाबाद जिल्लाको यो घटना हो। स्थानीय मानिसहरूका अनुसार विगत करिब पाँच वर्षदेखि इकबाल घर छाडेर बेलडाङ्गा सहरका विभिन्न पोखरीहरूमा दिन-रात पौडिँदै पानीभित्रै बस्दै आएका छन्। यो कुनै सोख वा कुनै विश्वकीर्तिमान (रेकर्ड) राख्ने प्रयास भने होइन।
इकबालका अनुसार उनको शरीरमा निरन्तर तीव्र जलन (पोल्ने समस्या) हुने गर्छ। आफूमाथि जिन, परी वा कुनै अदृश्य शक्तिको छाया (प्रभाव) रहेको उनको दाबी छ। उनी पानीबाट बाहिर निस्कने बित्तिकै शरीरमा तीव्र जलन सुरु हुन्छ, भने पानीमा पस्नासाथ उनलाई राहत महसुस हुन्छ।
लगातार धेरै दिनसम्म पानीमा रहने गरेका कारण उनको हात-खुट्टा र सिङ्गो शरीरको छाला सेतो भइसकेको छ। लामो समय पानीमा बिताउँदा उनी रुघाखोकीको समस्याबाट पनि ग्रसित बनेका छन्।
उपचारका लागि आफू स्थानीय ब्लक प्राथमिक स्वास्थ्य केन्द्र गएको तर उचित सहयोग नपाएको आरोप इकबालको छ। आर्थिक अभावका कारण उनको परिवार निजी अस्पतालमा लगेर उपचार गराउन पनि असमर्थ छ।
यद्यपि, अहिले स्थानीय मानिसहरू उनको उपचारका लागि अगाडि आउन थालेका छन्। दिनहूँ ठूलो सङ्ख्यामा विद्यार्थी र सर्वसाधारण मानिसहरू पोखरीको किनारमा उनलाई हेर्न जम्मा हुने गर्छन्। धेरैले उनलाई चिउरा, बिस्कुट र अन्य खानेकुराहरू पनि दिने गरेका छन्। तर, कसैले पनि उनलाई घरमा रोकेर राख्न सकेका छैनन्।
इकबालको यो असामान्य अवस्था देखेर स्थानीय बासिन्दाहरूमा चिन्ता बढेको छ। यसरी उनी कहिलेसम्म जीवित रहन सक्लान् भन्ने प्रश्न उनीहरूले उठाएका छन्। अहिले इकबालको यो रहस्यमयी बिरामी सिङ्गो क्षेत्रमै चासो र चर्चाको विषय बनेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment