आईपीओको तयारीमा रहेको कैलाश हेलिकप्टरको आम्दानी २६ प्रतिशत घट्यो

डिसी नेपाल
२३ साउन २०८३ १३:०८

काठमाडौं । प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) ल्याउने तयारीमा रहेको कैलाश हेलिकप्टर सर्भिस लिमिटेडको चालु आर्थिक वर्षको पहिलो नौ महिनामा आम्दानीमा उल्लेख्य गिरावट आएको छ ।

कम्पनीको सञ्चालन आम्दानी गत आवको सोही अवधिको तुलनामा करिब २६ प्रतिशतले घटेर ३९ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ । कम्पनीको क्रेडिट रेटिङ पुनरावलोकन गर्दै इक्रा नेपालले कम्पनीलाई पुनःट्रिपल बी रेटिङ प्रदान गरेको छ । यससँगै कम्पनीमाथि लगाइएको ‘वाच विथ डेभलपिङ इम्प्लिकेसन’ श्रेणी पनि हटाइएको छ ।

इक्राका अनुसार सन् २०२५ सेप्टेम्बरमा भएको आन्दोलन तथा अशान्तिले पर्यटन क्षेत्रमा प्रभाव पारे पनि त्यसको वित्तीय असर कम्पनीको समग्र साखमा सीमित रहेको देखिएको छ । इक्राले कम्पनीको ऋणरहित (डेब्ट–फ्री) पूँजी संरचना, सुदृढ तरलता अवस्था तथा प्रस्तावित आईपीओबाट पूँजी आधार थप बलियो हुने अपेक्षालाई रेटिङको प्रमुख आधार मानेको छ ।

यद्यपि आन्दोलनपछि उडान घण्टा घट्नुका साथै प्रति उडान घण्टा आम्दानीमा कमी आउँदा कम्पनीको सञ्चालन नाफा मार्जिन (ओपीएम) पनि दबाबमा परेको छ । सन् २०२५ मा ४२ प्रतिशत रहेको सञ्चालन नाफा मार्जिन चालु आवको पहिलो नौ महिनामा घटेर ३५ प्रतिशतमा झरेको छ ।

वार्षिक कारोबारका आधारमा हेर्दा कम्पनीले सन् २०२५ मा ८१ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको थियो। सन् २०२४ मा ७९ करोड ४० लाख रुपैयाँ, सन् २०२३ मा ७० करोड २० लाख रुपैयाँ र सन् २०२२ मा ४० करोड ४० लाख रुपैयाँ आम्दानी गरेको थियो। पछिल्ला वर्षहरूमा कारोबार विस्तार भए पनि हालको गिरावटले कम्पनीको सञ्चालनमा चुनौती थपिएको देखिन्छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *