युवाको सहभागिता संख्यामा मात्र होइन, सोच र निर्णयमा हुनुपर्छ : अनुष्का श्रेष्ठ

डिसी नेपाल
२६ साउन २०८३ १६:४४

काठमाडौँ। राज्यका निर्णय प्रक्रियामा युवाको सहभागिता संख्यात्मक प्रतिनिधित्वमा मात्र सीमित नभई युवाको सोच, सीप र समाधान दिने क्षमताका आधारमा हुनुपर्नेमा सांसद अनुष्का श्रेष्ठले जोड दिएकी छन्।

अन्तर्राष्ट्रिय युवा दिवसको पूर्वसन्ध्यामा मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसद श्रेष्ठले नेपालमा भइरहेको राजनीतिक पुस्तान्तरणलाई सकारात्मक र उत्साहजनक संकेतका रूपमा चित्रण गरिन्।

यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको नारा फरक परिवेश, साझा आकांक्षा रहेको उल्लेख गर्दै सांसद श्रेष्ठले नेपालको कुल जनसंख्याको करिब ४३ प्रतिशत हिस्सा (१६ देखि ४० वर्ष उमेर समूह) युवाले ओगटेको तथ्यांक प्रस्तुत गरिन्।

संसदमा युवा प्रतिनिधित्वको बलियो उपस्थिति रहेको औंल्याउँदै सांसद अनुष्का श्रेष्ठले भनिन्, “नेपालको संसदमा करिब ३८ प्रतिशत सांसद र मन्त्रिपरिषद्मा दुई-तिहाइ सदस्य युवा हुनुहुन्छ। हाम्रा प्रधानमन्त्री समेत विश्वकै कान्छा बहालवाला प्रधानमन्त्री हुनुहुन्छ। यो नेपालको राजनीतिमा पुस्तान्तरणको एउटा ऐतिहासिक र उत्साहजनक संकेत हो।”

सम्बोधनका क्रममा सांसद श्रेष्ठले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली युवाहरूलाई केवल अधिकारको दाबीमा मात्र सीमित नरही जिम्मेवारीबोधका साथ अघि बढ्न आग्रह गरिन्। अनुष्का श्रेष्ठले समाधानकेन्द्रित र सकारात्मक सहभागितामार्फत युवा ऊर्जालाई मुलुक निर्माणमा लगाउन आह्वान गरिन्।

नेपालले राजनीति र नेतृत्वमा हासिल गरेको यो पुस्तान्तरणको अभ्यासलाई विश्वभरकै लागि एउटा अनुकरणीय र अनुप्रेरणादायी उदाहरणका रूपमा स्थापित गर्नुपर्ने धारणा सांसद श्रेष्ठले व्यक्त गरिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *