इरानको धम्की र ट्रम्पको व्यक्तिगत बदला: एक रहस्यमयी घटनाको नालीबेली

डिसी नेपाल
२७ साउन २०८३ ७:३१

बीबीसी। “उसले मलाई समाप्त पार्नुअघि नै मैले उसलाई सिध्याएँ। उनीहरूले दुई पटक प्रयास गरेका थिए, तर मैले नै बाजी मारेँ।”

गत फेब्रुअरीमा इरानविरुद्ध अमेरिकी सैन्य अभियान सुरु गरेको भोलिपछिको दिन ‘एबीसी’ संवाददाता जोनाथन कार्लसँगको टेलिफोन कुराकानीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यक्त गरेको भनाइ हो यो।

अमेरिकी स्वीकृति र समन्वयमा भएको इजरायली हवाई आक्रमणमा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खानेमी र अन्य शीर्ष इरानी नेताहरूको मृत्यु भएको थियो। ट्रम्पले उक्त आक्रमणलाई विगतका वर्षहरूमा इरानले आफूविरुद्ध दिएका धम्की र हत्याका षड्यन्त्रहरूसँग सीधा जोडेका थिए।

त्यसपछिका ६ महिनाको युद्धका क्रममा ट्रम्पले यस्ता अभिव्यक्ति दोहोर्‍याएका छैनन्, तर रक्षामन्त्री पिट हेगसेथले पनि यही दृष्टिकोण व्यक्त गरेका छन्।

“इरानले राष्ट्रपति ट्रम्पको हत्या गर्ने प्रयास गरेको थियो, तर ट्रम्पले नै अन्तिम सफलता हात पारे,” मार्च महिनामा हेगसेथले भनेका थिए। उनका अनुसार अमेरिकी आक्रमणमा इरानी हत्या टोलीको नेतृत्व गर्ने एक अधिकारी मारिएका थिए।

यी भनाइहरूले यस युद्धको व्यक्तिगत स्वरूपलाई संकेत गर्छन्-र राष्ट्रपति तथा उनको सुरक्षा टोलीलाई ट्रम्पको सुरक्षामा इरानबाट अझै पनि खतरा छ भन्ने चिन्तालाई उजागर गर्छन्।

यी चिन्ताहरू गत महिना टर्कीमा भएको नेटो सम्मेलनबाट फर्किने क्रममा घटेको एउटा रहस्यमयी घटनाबाट स्पष्ट हुन्छन्। ट्रम्प आफ्नो उडानका क्रममा गोप्य रूपमा अर्को वैकल्पिक विमानमा सरेका थिए। उनले सञ्चारकर्मी र ह्वाइट हाउसका धेरैजसो कर्मचारीहरूलाई राष्ट्रपतिको सरकारी विमान ‘एयर फोर्स वन ७४७’ मा नै छाडेका थिए, जुन वास्तवमा भ्रम सिर्जना गर्ने एक ‘नक्कली’  विमान मात्र बनेको थियो।

टर्कीको अङ्कारामा राष्ट्रपतिलाई खानपिनका सामान ओसारपसार गर्ने क्याटरिङ ट्रकभित्र राखेर विमानसम्म पुर्‍याउने र ल्याउने गरिएको थियो। इरानले ‘एयर फोर्स वन’ मा क्षेप्यास्त्र प्रहार गर्न सक्ने भरपर्दो गुप्तचर सूचनाका आधारमा यो गुप्त अप्रेशन चलाइएको अधिकारीहरूको दाबी छ।

ह्वाइट हाउसले यस खतराबारे थप विवरण दिएको छैन, तर पनि यसले ट्रम्प र इरानबीचको उथलपुथलपूर्ण सम्बन्धको अर्को एक रोचक घटनालाई दर्साउँछ।

सुरक्षा विज्ञहरूका अनुसार राष्ट्रपतिले युद्ध क्षेत्र वा सो वरपरको यात्रा गर्दा यस्ता कदमहरू चाल्नु असामान्य भने होइन। यसअघिका राष्ट्रपतिहरूले पनि अफगानिस्तान, इराक र युक्रेन जस्ता क्षेत्रको यात्रा गोपनीयताकै बीच गरेका थिए, तर सञ्चारमाध्यमहरूलाई पूर्वजानकारी गराएर यात्रा सकिएपछि मात्र समाचार सार्वजनिक गर्ने सम्झौता गरिन्थ्यो।

आफ्नो शक्ति र इरानी सेनाको कमजोरीको निरन्तर दाबी गर्दै आएका ट्रम्पका लागि क्याटरिङ ट्रकमा लुकेर इरानी खतराबाट जोगिनुपर्ने अवस्था पक्कै पनि सुहाउँदो दृश्य भने थिएन। अङ्कारामा सेक्रेट सर्भिसले चलाएको अप्रेशन सार्वजनिक हुन एक महिनाभन्दा बढी समय लाग्नुको पछाडि उनको बलियो जनछविलाई असर नपुगोस् भन्ने मनसाय हुनसक्छ।

यो घटनाले युद्ध लगभग समाप्त भइसकेको र शत्रु मैदानमा पूर्ण रूपमा पराजित भइसकेको राष्ट्रपतिको दाबीका बाबजुद अमेरिकी हितमा इरानबाट अझै खतरा कायम रहेको देखाउँछ।

ट्रम्पविरुद्ध इरानी धम्की भने नयाँ होइनन्।

सन् २०२० को जनवरीमा ट्रम्पको पहिलो कार्यकालमा अमेरिकी क्षेप्यास्त्र आक्रमणबाट इरानी रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) का नेता कासिम सुलेमानीको मृत्यु भएपछि इरानी नेताहरूले अमेरिकी राष्ट्रपति र वरिष्ठ अधिकारीहरूसँग बदला लिने कसम खाएका थिए। एक पटक इरानमा बनाइएको भित्तेचित्रमा ट्रम्प फ्लोरिडामा गल्फ खेलिरहेका बेला उनलाई ड्रोनले निशाना बनाएको देखाइएको थियो।

यी इरानी धम्कीहरू केवल धम्कीमा मात्र सीमित थिएनन्।

सन् २०२२ मा ट्रम्पका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहाकार जोन् बोल्टनलाई निशाना बनाउने योजना सार्वजनिक भएपछि बाइडेन प्रशासनले इरानलाई कुनै पनि अमेरिकी नागरिकलाई निशाना नबनाउन चेतावनी दिएको थियो।

जुलाई २०२४ मा अमेरिकी प्रहरीले आईआरजीसीसँग सम्बन्ध रहेको आरोपमा ट्रम्पको हत्याको षड्यन्त्र रचेको अभियोगमा एक पाकिस्तानी नागरिक आसिफ मर्चेन्टलाई पक्राउ गर्‍यो। चार महिनापछि, फरहाद शाकेरी नाम गरेका अर्का अफगानी नागरिकमाथि पनि ट्रम्पविरुद्ध अर्को हत्याको योजना बनाएको अभियोग लाग्यो।

मर्चेन्टलाई मार्च २०२६ मा दोषी ठहर गरियो, तर आईआरजीसीका अधिकारीको निर्देशनमा काम गरेका भनिएका शाकेरी भने अझै फरार छन्।

यद्यपि यी प्रयासहरू योजनाकै चरणमा असफल पारिएका थिए, तर ट्रम्पले ह्वाइट हाउस फर्कने दौडमा रहँदा सामना गरेका शारीरिक जोखिमहरू निकै स्पष्ट थिए।

जुलाई २०२४ मा पेन्सिलभेनियाको बटलरमा आयोजित एक र्‍यालीमा बन्दुकधारीले गोली चलाउँदा उनी घाइते भएका थिए। त्यसको दुई महिनापछि, ट्रम्प गल्फ खेलिरहेको ठाउँ नजिकै रुखहरूमा लुकिराखेको अवस्थामा एक हतियारधारी व्यक्तिलाई अमेरिकी सेक्रेट सर्भिसका एजेन्टहरूले पक्राउ गरेका थिए।

“यो उनका लागि एक स्तब्ध बनाउने क्षण थियो,” न्यूयोर्क टाइम्सकी ह्वाइट हाउस संवाददाता म्यागी हेबरम्यानले २०२४ का इरानी षड्यन्त्र र हत्याका प्रयासहरूबारे चर्चा गर्दै भनिन्, “उनको दिमागमा ती सबै कुराहरू एउटै ठूलो अन्योल बनेका छन्।”

“ट्रम्प स्वयंका लागि, इरान र खतरामा परेको यो अनुभूति निरन्तर कायम छ,” उनले भनिन्।

न्यूज वेबसाइट ‘सेमाफोर’ का अनुसार, राष्ट्रपति प्रायः हत्याको निशाना बन्ने विषयमा गम्भीर विचार र ठट्टा गर्ने गर्छन्।

ह्वाइट हाउसका एक अधिकारीले ट्रम्पको भनाइ उद्धृत गर्दै भने, “राष्ट्रपति हुनु कति खतरनाक हुन्छ भनेर कसैले मलाई भनेका थिएनन्, यदि भनेका भए सायद म चुनावमा उठ्ने नै थिइनँ।” उनले यस्ता टिप्पणीहरू मजाकमा गरे पनि यसको पछाडि एउटा यथार्थ लुकेको छ।

सन् २०२५ मा ट्रम्पले इरानका आणविक अनुसन्धान केन्द्रहरूमा गरेको बमबारी र यस वर्षको व्यापक बमबारी अभियान एवं समुद्री नाकाबन्दीले ट्रम्पविरुद्ध इरानी धम्कीको नयाँ शृङ्खला सुरु गर्‍यो। जवाफमा अमेरिकी राष्ट्रपतिले पनि सीधा चेतावनी दिए।

जुलाईमा ट्रम्पले ट्रुथ सोसलमा लेखेका थिए कि इरानले उनको “हत्या गर्ने वा हत्याको प्रयास गर्ने” धम्की दिएको छ र “यदि इरानी सरकारले आफ्नो धम्कीमा कारबाही गर्छ भने १,००० क्षेप्यास्त्रहरू इरानतर्फ तेर्स्याइएका छन् र अरू हजारौँ क्षेप्यास्त्रहरू तत्काल पछाडि तयारी अवस्थामा छन्”।

इरानलाई राष्ट्रपतिको सन्देश स्पष्ट थियो, र उनैविरुद्धका हालैका धम्कीहरू पनि उत्तिकै स्पष्ट थिए।

टर्कीबाट ट्रम्प प्रस्थान गर्नुभन्दा अघिल्लो दिन आयोजित खानेमीको अन्त्येष्टि सभामा सहभागीहरूले “#KillTrump” (ट्रम्पलाई मार) लेखिएको ब्यानर बोकेका थिए। त्यसपछिको साता मध्य तेहरानको एक चोकमा रहेको भवनमा अमेरिकी राष्ट्रपति कालो कफिनमा ढलेको ठूलो भित्तेचित्र राखियो, जसको मुनि “हामी ट्रम्पलाई मार्नेछौँ” र “रगतको बदला रगत” लेखिएको थियो।

इरानले ट्रम्पविरुद्धका अघिल्ला षड्यन्त्रहरूमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ, तर खानेमीको मृत्यु र अमेरिकी तथा इजरायली आक्रमणमा इरानी सर्वसाधारणको क्षतिपछि दिइएको यो सन्देश भने बिल्कुलै स्पष्ट छ।

इरानीहरू भनिरहेका छन्-युद्ध अझै सकिएको छैन। र ट्रम्प स्वयं बदलाको प्रमुख निशाना हुन्।

टर्कीबाट अमेरिका फर्कने यात्राको अन्तिम चरणमा जब ट्रम्प र उनीसँगै यात्रा गरिरहेका सञ्चारकर्मीहरू पुन: एउटै विमानमा भेट भए, तब राष्ट्रपति पत्रकारहरूसँग कुरा गर्न प्रेस क्याबिनमा आए।

पत्रकारहरूले यो अनोठो यात्राबारे प्रश्न सोधे, जसमा अंकाराबाट उडान भर्ने क्रममा नक्कली विमानका झ्यालका पर्दाहरू बन्द राख्न सेक्रेट सर्भिसले दिएको आदेश पनि समावेश थियो।

उनले पत्रकारहरूलाई भने, “मैले सधैँ पढ्दै आएको छु कि म उनीहरूको सूचीको पहिलो नम्बरमा छु।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *