धनकुटा बन्दैछ राष्ट्रिय खेलाडी उत्पादनको उर्वरभूमि, ३८ खेलाडीले बनाए राष्ट्रिय पहिचान
धनकुटा। अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई निलम्बन गरेको अवस्थामा नेपाली फुटबलसहित समग्र खेलकुद क्षेत्रमा यसको प्रभावबारे बहस भइरहेका बेला धनकुटा भने राष्ट्रिय खेलाडी उत्पादन गर्ने जिल्लाका रूपमा आफ्नो पहिचान बलियो बनाउँदै गएको छ।
फिफा र एसियाली फुटबल महासङ्घ (एएफसी)को सदस्य रहेको एन्फा निलम्बनमा परेपछि नेपालका पुरुष, महिला तथा उमेर समूहका राष्ट्रिय टोलीले फिफा वा एएफसीका अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन नपाउने अवस्था सिर्जना भएको छ।
साथै फिफा र एएफसीबाट प्राप्त हुने अनुदान तथा विकास कार्यक्रम प्रभावित हुने तथा एन्फाका पदाधिकारीले ती निकायका आधिकारिक बैठक र मतदानमा सहभागी हुन नपाउने भएका छन्। यद्यपि नेपालभित्र सञ्चालन हुने घरेलु लिग तथा स्थानीय प्रतियोगिता भने सञ्चालन गर्न सकिने भए पनि अन्तर्राष्ट्रिय मान्यता र अवसर गुम्ने जोखिम बढेको छ।
यस्तो अवस्थामा पनि धनकुटाले पछिल्ला वर्षहरूमा विभिन्न खेल विधामा प्रतिभावान् खेलाडी उत्पादन गर्दै आएको छ। जिल्ला खेलकुद विकास समितिको तथ्याङ्कअनुसार धनकुटाबाट हालसम्म कम्तीमा ३८ खेलाडीले विभिन्न खेलमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिनिधित्व गरिसकेका छन्। तीमध्ये केही नेपाली राष्ट्रिय टोलीका नियमित सदस्य बनेका छन् भने केही खेलाडी हुँदै प्रशिक्षक, रेफ्री तथा निर्णायकको भूमिकामा समेत सक्रिय छन्।
धनकुटामा सबैभन्दा बलियो उपस्थिति फुटबलको देखिन्छ। किरण चेम्जोङ, सुजल श्रेष्ठ, बुद्ध चेम्जोङ, राम वाजी, दिलेन राई, पदम भट्टराई, सुमन श्रेष्ठ, विशाल भण्डारी, अशोक भगत श्रेष्ठ र पुरेन्द्रलाल श्रेष्ठलगायत खेलाडीले राष्ट्रियस्तरमा धनकुटाको प्रतिनिधित्व गरेका छन्। धनकुटाबाट राष्ट्रियस्तरमा पुग्ने फुटबल खेलाडीको सङ्ख्या मात्रै ११ भन्दा बढी रहेको बताइएको छ।
नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तानसमेत रहिसकेका किरण चेम्जोङ धनकुटाको खेल इतिहासका चर्चित खेलाडीमध्ये एक हुन्। उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबलमा लामो समय योगदान दिएका छन्। त्यसैगरी सुजल श्रेष्ठले पनि नेपाली राष्ट्रिय टोलीमा लामो समय योगदान गर्दै कप्तानको जिम्मेवारीसमेत सम्हालिसकेका छन्। धनकुटाबाट राष्ट्रिय टोलीसम्म पुगेका खेलाडीको उल्लेख्य सङ्ख्याले जिल्लामा फुटबलप्रतिको आकर्षण र सम्भावना दुवै प्रस्ट पार्छ।
फुटबलमा खेलाडी उत्पादनसँगै धनकुटाले प्रशिक्षक पनि उत्पादन गरेको छ। सुमन श्रेष्ठ खेलाडीको भूमिकाबाट राष्ट्रिय प्रशिक्षक बनेका छन् भने सरिन प्रधान खेलाडी हुँदै अहिले जिल्ला प्रशिक्षकका रूपमा सक्रिय छन्। यसले धनकुटाको खेलकुद विकासमा खेलाडी उत्पादनसँगै प्राविधिक जनशक्ति विकास पनि भइरहेको देखाउँछ।
फुटबलपछि उसुमा पनि धनकुटाको उल्लेखनीय योगदान छ। नयन श्रेष्ठ खेलाडी हुँदै अन्तर्राष्ट्रिय निर्णायकका रूपमा सक्रिय छन् भने खेम थापा खेलाडीबाट राष्ट्रिय रेफ्री बनेका छन्। विमल श्रेष्ठ, उत्तम श्रेष्ठ, चित्रसिंह ठकुरी, शिव राई, मेनुका तामाङ, रिजन श्रेष्ठ, निपेन श्रेष्ठ, तन्जुना सुन्दास, कौशिला तामाङ, हेमराज शङ्कर, सागर मल्ल ठकुरी, केदार सिजाली, पवन गुरुङ र सरिता मोक्तानलगायत खेलाडीले राष्ट्रियस्तरका प्रतियोगितामा सहभागिता जनाइसकेका छन्। चित्रसिंह ठकुरीले अन्तर्राष्ट्रियस्तरसम्म सहभागिता जनाएर धनकुटाको नाम चिनाएका छन्।
भलिबलमा पनि धनकुटाबाट शम्भु प्रधान, ईश्वर श्रेष्ठ र पियुष श्रेष्ठले राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका छन्। विनय राई राष्ट्रिय निर्णायकका रूपमा सक्रिय छन्। बक्सिङमा सरु मगर र हेमचन्द्र राईले राष्ट्रियस्तरमा प्रतिस्पर्धा गरेका छन् भने ब्याडमिन्टनमा अरुणा तामाङले राष्ट्रिय प्रतियोगितामा धनकुटाको प्रतिनिधित्व गरेकी छन्।
एथलेटिक्सतर्फ किरण प्रधान खेलाडी हुँदै राष्ट्रिय निर्णायकका रूपमा सक्रिय छन्। टिकाराम श्रेष्ठ पनि राष्ट्रिय निर्णायकका रूपमा काम गरिरहेका छन्। कबड्डी तथा खो–खोमा सुरेश रिजाल र रोहित दवाडी राष्ट्रिय निर्णायकका रूपमा परिचित छन्। यसरी धनकुटाले खेलाडी मात्र नभई प्रशिक्षक, रेफ्री र निर्णायकसमेत उत्पादन गर्न सफल भएको छ।
धनकुटाबाट राष्ट्रिय खेलाडी उत्पादन हुनुमा स्थानीय क्लब, विद्यालयस्तरीय प्रतियोगिता, सहिद भीमनारायण फुटबल प्रतियोगिता, चौबिसे गाउँपालिकामा आयोजना हुने रारा फुटबल प्रतियोगिता तथा जिल्लाको खेलप्रेमी समुदायको महत्वपूर्ण भूमिका रहेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख नवीन प्रधानले बताए।
सीमित स्रोतसाधन र पूर्वाधारका बाबजुद धनकुटाका खेलाडीले गरेको संघर्ष प्रशंसनीय रहेको प्रधानको भनाइ छ। केही खेल विधामा जिल्ला खेलकुद विकास समितिले प्रशिक्षकको व्यवस्था गरेर खेलाडीलाई आवश्यक सहयोग गर्दै आएको उनले बताए।
तर खेलाडीका लागि जिल्लामा अझै थुप्रै चुनौती रहेको छ। आधुनिक खेलमैदान, कभर्ड हल, नियमित प्रशिक्षण केन्द्र र दक्ष प्रशिक्षकको अभाव रहेको खेलाडीहरूको गुनासो छ। धनकुटाको मुख्य खेलमैदानका रूपमा रहेको तल्लो टुँडिखेल जीर्ण बन्दै जानुले पनि खेलकुद गतिविधिमा थप समस्या सिर्जना गरेको छ।
जिल्ला बक्सिङ सङ्घका अध्यक्ष विदुर खवासका अनुसार खेलकुद क्षेत्रमा स्थानीय तह, प्रदेश सरकार र राष्ट्रिय खेलकुद परिषद्ले पूर्वाधारमा लगानी बढाउने हो भने धनकुटाले अझ धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न सक्छ। उनका अनुसार खेलकुदमा लगानी बढाउँदा युवालाई सकारात्मक दिशातर्फ उन्मुख गराउनुका साथै जिल्लाको पहिचान राष्ट्रियस्तरमा स्थापित गर्न पनि सहयोग पुग्छ।
धनकुटाले हालसम्म उत्पादन गरेका ३८ राष्ट्रियस्तरका खेलाडी व्यक्तिगत सफलताका उदाहरण मात्र नभई जिल्लाको सामूहिक खेल क्षमता र सम्भावनाका प्रतीक भएको खवासले बताए। उचित अवसर, पर्याप्त पूर्वाधार र प्रोत्साहन उपलब्ध गराउन सके धनकुटा नेपाली खेलकुदको प्रमुख प्रतिभा केन्द्रका रूपमा अझ मजबुत बन्न सक्ने उनको विश्वास छ।
खवासले खेलकुद क्षेत्रमा राज्यको लगानी अत्यन्तै न्यून रहेको बताउँदै जिल्लामा खेलाडी प्रशिक्षणका लागि पर्याप्त कभर्ड हल र व्यवस्थित खेलमैदान नहुनु मुख्य समस्या रहेको बताए। राज्यले खेलकुदलाई हेर्ने दृष्टिकोण परिवर्तन गरी लगानी बढाउनुपर्ने, गाउँगाउँमा लुकेका प्रतिभाको पहिचान गर्नुपर्ने र छनोट प्रक्रियामा हुने पक्षपात अन्त्य गर्नुपर्ने उनको भनाइ छ।
उनका अनुसार खेलाडी छनोटमा पारदर्शिता, नियमित प्रशिक्षण, दक्ष प्रशिक्षक र पर्याप्त पूर्वाधारको व्यवस्था गर्न सके धनकुटाले अहिलेभन्दा धेरै राम्रा खेलाडी उत्पादन गर्न सक्छ।
धनकुटाले विभिन्न चुनौतीका बीच राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्दै आएको छ। अब स्थानीय प्रतिभालाई निरन्तरता दिन दीर्घकालीन योजना, पर्याप्त बजेट, आधुनिक पूर्वाधार र नियमित प्रशिक्षणको व्यवस्था गर्न सके धनकुटा नेपालको खेलकुद प्रतिभाको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित हुने सम्भावना देखिन्छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment