टीका संग्रौलाको आक्रोश : ‘प्रतिपक्षीले सरकारको वैधानिकतामाथि प्रश्न उठाउनुको अर्थ छैन’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद टीका संग्रौलाले वर्तमान सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै आएको भन्दै प्रतिपक्षी दलका सांसदहरूप्रति कडा आक्रोश व्यक्त गरेकी छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जनताले परिवर्तन र नयाँ नेतृत्वको पक्षमा मतदान गरेकाले रास्वपा सरकारमा आएको दाबी गरिन्। उनले चुनावमा रास्वपाले १८२ सिटसहित बहुमत प्राप्त गरेको बताउँदै सरकारको वैधानिकतामाथि निरन्तर प्रश्न उठाउनुको कुनै अर्थ नरहेको स्पष्ट पारेकी छन् ।
संसदमा आफ्नो भनाइ राख्दै उनले भनिन्, ‘यो पटक प्रष्ट रूपमा अन्धकार, भ्रष्टाचार, बेथिति र लुटतन्त्रको खोल ओडेर देशलाई बर्बाद बनाउन खोज्नेहरूको अनुहार एल्गोरिदमले हेर्नै चाहेन। एल्गोरिदमले नयाँ हे¥यो, युवा हे¥यो, सम्भावना हे¥यो अनि परिवर्तनको घण्टी बजायो।’
सांसद संग्रौलाले वर्तमान सरकारले विगत लामो समयदेखि जरो गाडेर बसेको बेथिति र भ्रष्टाचारको उपचार सुरु गरिसकेको दाबी गरिन् । सरकारका कामका क्रममा केही समस्या र आलोचना आउन सक्ने भए पनि त्यसलाई उपचारका क्रममा घाउ चिर्ने, सिलाउने र मिलाउने प्रक्रियासँग तुलना गर्नु पर्ने बताइन् ।
उनले भनिन्, ‘३५ वर्षको बेथिति र भ्रष्टाचारको चोटलाई अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले, यो सरकारले उपचार गर्न सुरु गरिसकेको छ । उपचार गर्ने क्रममा कतै चिर्नुपर्ने, कतै सिलाउनुपर्ने, कतै मिलाउनुपर्ने हुन्छ ।’
भ्रष्टाचार, बेथिति, अनियमितता र गुण्डाराजलाई क्यान्सरको संज्ञा दिँदै उनले त्यसबाट देशलाई मुक्त गराउने नै वर्तमान सरकारको मुख्य उद्देश्य रहेको बताइन् । विगतका सरकारहरूको चर्को आलोचना गर्दै उनले तत्कालीन सरकारको नेतृत्वमा भएका घटनामा ज्यान गुमाएका नागरिकका परिवारले अझै पनि ठूलो दुःख भोगिरहेको अवस्थामा फेरि पुरानै नेतृत्वले सरकार सञ्चालन गर्ने दाबी गर्नु आश्चर्यजनक भएको टिप्पणी गरिन् ।
भदौ २३ र २४ गतेको जनविद्रोहलाई स्मरण गर्दै उनले भनिन्, ‘भदौ २३ र २४ गतेको जनविद्रोहमा मारिएका सन्तानका बुवाआमाहरू बरखी बारेर बसिरहनुभएको छ । उहाँहरूको शरीरबाट सेतो कपडा उत्रिएको छैन । कुन हिम्मतले फेरि यहाँ आउँछौँ र तिनै जनतामाथि शासन गर्छौँ भनेर उहाँहरूले भनिरहनुभएको छ ?’
बैठकमा प्रधानमन्त्रीले लगाउने कालो चस्माबारे भइरहेका टिप्पणीप्रति पनि उनले कडा व्यंग्य गरिन् । चिनियाँ नेता देङ स्याओपिङको प्रसिद्ध भनाइ उद्धृत गर्दै उनले बिरालो कालो वा सेतोभन्दा पनि मुसा मार्न सक्ने हुनुपर्ने बलियो तर्क प्रस्तुत गरिन् ।
उनले भनिन्, ‘प्रधानमन्त्रीले कालो चस्मा लगाए पनि, सेतो चस्मा लगाए पनि, यो देश बनाइदिनुभयो भने पुगेन र सभामुख महोदय ?’
प्रधानमन्त्रीको चस्मामाथि होइन, प्रतिपक्षी दलहरूको नियतमाथि प्रश्न उठाउनुपर्ने उनको जिकिर थियो । उनले थपिन्, ‘त्यसकारण अब प्रश्न कालो चस्मामाथि होइन, प्रतिपक्षी दलका सम्माननीय ज्यूहरूको कालो नियतमाथि हामीले प्रश्न गर्छौँ र जनताले प्रश्न गर्छन् ।’
सांसद संग्रौलाले सरकारलाई बिनाअवरोध काम गर्न दिनुपर्नेमा जोड दिँदै सरकारका सकारात्मक कामको समर्थन र नकारात्मक कामको रचनात्मक आलोचना गर्ने स्वस्थ राजनीतिक संस्कारको विकास गर्नुपर्ने आवश्यकता औंल्याइन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment