न्यायोचित भाडादर र कमिसन कटौतीको माग गर्दै राइड सेयरिङ चालकको प्रदर्शन (तस्विरहरु)

डिसी नेपाल
२ भदौ २०८३ १४:०८

काठमाडौं । न्यायोचित भाडादर, कम्पनीले लिने कमिसन कटौती तथा श्रमको उचित मूल्यांकनको माग गर्दै राइड सेयरिङ चालक तथा राइडरहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्।

स्वतन्त्र चालक फाउण्डेशन नेपालको आयोजनामा मंगलबार काठमाडौंको माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गरिएको हो। प्रदर्शनमा सहभागी चालक तथा राइडरहरूले राइड सेयरिङ कम्पनीहरूले चालकको श्रमअनुसार उचित पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग गरेका छन्।

उनीहरूले हाल कायम रहेको भाडादरले चालकको श्रम, समय, इन्धन तथा सवारीसाधनको मर्मतसम्भारको खर्च धान्न कठिन भइरहेको बताएका छन्। कम्पनीहरूले लिने कमिसनका कारण चालकको आम्दानी थप प्रभावित भएको भन्दै कमिसन घटाउनुपर्ने उनीहरूको माग छ।

प्रदर्शनकारीहरूले राइड सेयरिङ क्षेत्रका समस्या कम्पनी र चालकबीच वार्तामार्फत समाधान गर्नुपर्ने बताएका छन्। उनीहरूले चालकको न्यूनतम आम्दानी सुनिश्चित हुने गरी न्यूनतम भाडादर निर्धारण गर्नुपर्ने मागसमेत अघि सारेका छन्।

त्यस्तै, राइडिङका क्रममा चालक तथा राइडर दुवैको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने उनीहरूको माग छ। राइड सेयरिङ क्षेत्रलाई व्यवस्थित, सुरक्षित र श्रममैत्री बनाउन सम्बन्धित निकायले स्पष्ट नीति तथा मापदण्ड बनाउनुपर्ने प्रदर्शनकारीहरूको भनाइ छ।

स्वतन्त्र चालक फाउण्डेशन नेपालले चालकका समस्या सम्बोधन नगरे थप दबाबमूलक कार्यक्रम गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनीसमेत दिएको छ। प्रदर्शनकारीहरूले आफ्ना मागप्रति कम्पनी तथा सम्बन्धित सरकारी निकाय गम्भीर बन्न आग्रह गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *