सरकारका गलत क्रियाकलापको समर्थन गर्न सकिंदैन : सांसद सिद्धिकी
काठमाडौं । नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले सरकारका गलत क्रियाकलाप र कार्यशैलीमा प्रतिपक्षले कहिल्यै समर्थन नगर्ने स्पष्ट पारेकी छन्।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले सत्तापक्षबाट धम्कीपूर्ण भाषा प्रयोग भएको भन्दै कडा आपत्ति जनाइन्। प्रतिपक्षले जनताको आवाज उठाउँदा ‘गुण्डा’को संज्ञा दिनु संसद्को गरिमा सुहाउँदो नभएको तर्क गर्दै उनले प्रतिपक्ष दल सधैँ देश र जनताको हितमा दृढतापूर्वक उभिने बताइन्।
सांसद सिद्धिकीले भनिन्, ‘एकातर्फबाट धम्काउने र अर्कोतर्फबाट आफैं मलम लगाउन तयार भएको अभिनय गर्ने कार्य स्वीकार्य छैन। हामी जस्तोसुकै कठिन परिस्थितिको सामना गर्न र बलिदान दिन तयार छौं, तर सरकारका गलत कार्यहरूलाई टुलुटुलु हेरेर समर्थन गर्न सक्दैनौं।’
साथै, आफ्नो सम्बोधनका क्रममा उनले हालै सिराहामा प्रहरीले चलाएको गोलीको घटनालाई गम्भीर रूपमा लिँदै यस विषयमा सरकारसँग सदनमा जवाफदेहिता माग गरेकी छिन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment