भोटेकोशी बाढीबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक सुरु

डिसी नेपाल
११ भदौ २०८३ ९:४९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ ।

रास्वपा संसदीय दलको कार्यालयमा सुरु भएको बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू तथा प्रतिनिधिहरू सहभागी छन् ।

बैठकमा पछिल्लो समय भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षति, प्रभावित क्षेत्रमा भइरहेको खोजी तथा उद्धार, राहत वितरण र आगामी पुनर्स्थापनाका विषयमा छलफल हुने बताइएको छ ।

बाढीका कारण रसुवालगायत विभिन्न जिल्लामा ठूलो क्षति पुगेपछि प्रभावितको उद्धार तथा बेपत्ताको खोजीलाई प्रभावकारी बनाउने विषय बैठकको प्रमुख एजेन्डा रहेको छ । साथै, बाढीबाट विस्थापित तथा प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने र क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि सरकार र राजनीतिक दलहरूले खेल्नुपर्ने भूमिकाबारे पनि छलफल हुने अपेक्षा गरिएको छ ।

बैठकमा विपद्का बेला राज्यका संयन्त्रबीच समन्वयलाई थप प्रभावकारी बनाउने, उद्धार तथा राहत कार्यमा देखिएका समस्या समाधान गर्ने र प्रभावित नागरिकलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउने विषयमा साझा धारणा बनाउने प्रयास हुने बताइएको छ ।

भोटेकोशी बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको अवस्थामा राजनीतिक दलहरूबीच सहकार्य र समन्वय आवश्यक रहेको भन्दै रास्वपा सभापति लामिछानेले सर्वदलीय बैठक बोलाएका हुन् ।

बैठकबाट बाढी प्रभावित क्षेत्रको तत्कालीन उद्धार तथा राहतदेखि दीर्घकालीन पुनर्स्थापनासम्मका लागि आवश्यक पहल र सरकारलाई सुझाव दिने विषयमा निर्णय हुन सक्ने बताइएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *