भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन, खोजी तथा उद्धार जारी
काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रसुवामा कार्यरत २८ जना प्रहरी कर्मचारी सम्पर्कविहीन भएका छन्। बाढीका कारण जिल्लाका विभिन्न प्रहरी युनिटमा कार्यरत प्रहरी कर्मचारी सम्पर्कविहीन भएपछि उनीहरूको खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार टिमुरेमा कार्यरत १० जना, प्रहरी चौकी रसुवागढीका आठ जना, स्याफ्रुबेसीका तीन जना, अस्थायी प्रहरी पोष्ट मैलुङका पाँच जना तथा बेत्रावती र हाकु प्रहरी चौकीका एक–एक जना प्रहरी कर्मचारी सम्पर्कविहीन भएका छन्।
भोटेकोशीमा आएको बाढीले रसुवाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याएपछि सम्पर्कविहीन प्रहरी कर्मचारीको अवस्था पत्ता लगाउन सुरक्षा निकायले खोजी तथा उद्धारलाई प्राथमिकतामा राखेको छ।
नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेका अनुसार सम्पर्कविहीन प्रहरी कर्मचारीको खोजी तथा उद्धारका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। उनका अनुसार हाल ३ हजार ३१८ जना सुरक्षाकर्मी तथा उद्धारकर्मी खोजी तथा उद्धार कार्यमा परिचालित छन्।
बाढी प्रभावित क्षेत्रमा जोखिम उच्च रहेकाले उद्धार टोलीले सावधानीपूर्वक खोजी कार्य अघि बढाइरहेको प्रहरीले जनाएको छ। सम्पर्कविहीन प्रहरी कर्मचारीसहित बाढीमा परेका अन्य व्यक्तिको खोजी तथा उद्धारका लागि सुरक्षा निकायले स्थल तथा आवश्यकताअनुसार हवाई माध्यमबाट समेत प्रयास गरिरहेको छ।
भोटेकोशी बाढीका कारण रसुवासहित आसपासका जिल्लामा जनधन तथा भौतिक संरचनामा ठूलो क्षति पुगेको छ। बाढीपछि प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहत वितरणको कामलाई तीव्र बनाइएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment