बाढी पिडितका लागि काठमाडौं महानगरले साढे ४ करोड सहयोग दिने
काठमाडौं। काठमाडौं महानगरपालिकाले रसुवाको भोटेकोशी बाढीबाट भएको क्षति व्यवस्थापनका लागि ४ करोड ५४ लाख १४ हजार ७८७ रुपैयाँ सहयोग गर्ने भएको छ।
महानगरको ५७औँ कार्यपालिका बैठकले विपद् व्यवस्थापन कोषबाट ३ करोड रुपैयाँ र जनप्रतिनिधि तथा कर्मचारीको पारिश्रमिक तथा सुविधाबाट बाँकी रकम जुटाउने निर्णय गरेको हो।
सहयोग रकममध्ये महानगर विपद व्यवस्थापन कोषबाट ३ करोड रुपियाँ प्रदान हुनेछ। बाँकी रकम, कार्यपालिका सदस्यहरुको १ महिनाको सुविधाबाट प्राप्त हुने रकम, वडा सदस्यहरुको ५ दिनको सुविधा रकम, शहरी योजना आयोगका उपाध्यक्ष, सदस्य तथा सहायक विज्ञको ७ दिन बराबरको पारिश्रमिक तथा सुविधा रकम, महानगरपालिकामा कार्यरत अधिकृत स्तरका कर्मचारीहरुको ७ दिन बराबरको पारिश्रमिक रकम, सहायक स्तरका कर्मचारीको ५ दिन बराबरको पारिश्रमिक रकम, श्रेणीविहिन कर्मचारीको २ दिन बराबरको पारिश्रमिक रकम जम्मा गरिनेछ।
बैठकले खाद्यान्न, लत्ता कपडा, इन्डक्सन सहित भाडावर्तन, पिउने पानी, त्रिपाल, कम्बल, सिलिन्डर, एम्बुलेन्स, यातायातका साधन, शववाहन, एक्साभेटर, जेट मेसिन लगायतका साधन र सामग्री तथा आवश्यकता अनुसारका जनशक्ति व्यवस्थापन गर्न विपद् व्यवस्थापन समितिलाई जिम्मेवारी दिने निर्णय गरेको हो।
बैठकले महानगरवासी तथा निजी क्षेत्रलाई समेत विपद् व्यवस्थापनका लागि सहयोग गर्न आह्वान गर्दै राष्ट्रिय सभागृहमा सहायता कक्ष र सूचना केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment