तिब्बतमा पहिरोले थुनिएर बनेको तालको आकार घट्दै, जोखिम पनि घट्दै
काठमाडौं । गएको हप्ताको सुरुमा विनाशकारी बाढी आएको चीन-नेपाल सीमा नजिकै हिमनदी (ग्लेशियर) खसेर बनेको ताल फुटेर आउन सक्ने विपद्को जोखिम कम भएको चिनियाँ अधिकारीहरूले बताएका छन्। तालको आकार क्रमशः घट्दै गएकाले जोखिम कम भएको हो।
चीनको तिब्बत क्षेत्र र नेपालको सीमामा पर्ने दुई नदीको सङ्गमस्थलमा बनेको उक्त तालको पानी बिस्तारै बाहिर बगिरहेको र जलाशयको आकार घट्दै गएको बिहीबारदेखि शनिबार बिहानसम्मका भूउपग्रह (स्याटेलाइट) तस्बिरहरूले देखाएको चिनियाँ जलस्रोत मन्त्रालयलाई उद्धृत गर्दै सरकारी प्रसारण संस्था सिसिटिभीले जनाएको छ।
शनिबार दिउँसोसम्ममा तालको तल्लो भाग (सतह) देखिन थालेको सिसिटिभीले उल्लेख गरेको छ। मन्त्रालयका अनुसार पुरेपु साङपो नदीमा बनेको तालको भूउपग्रह तस्बिरले शनिबार बिहानसम्म यसले ९९,००० वर्गमिटर (करिब १४ वटा फुटबल मैदान बराबर) क्षेत्र ओगटेको देखाएको छ, जुन बिहीबारको तुलनामा २१,००० वर्गमिटरले घटेको हो।
गत बुधबार हिमनदी खसेपछि चट्टान, हिउँ, लेदो र भग्नावशेषको तीव्र बहावले तिब्बत र नेपाल जोड्ने सीमापार नाका क्षेत्र बगाएको थियो। घटनामा परी सयौँ मानिसको मृत्यु हुनुका साथै हजारौँ बेपत्ता भएका छन्।
विज्ञ तथा अधिकारीहरूले उपत्यकामा दोस्रो चरणका सम्भावित विपद्को अत्यधिक उच्च जोखिम रहेको र विशेष गरी हिमनदीका भग्नावशेषबाट बनेको तालका कारण तल्लो तटीय क्षेत्रमा जारी उद्धार कार्य प्रभावित हुन सक्ने चेतावनी दिएका थिए।
पानी प्राकृतिक रूपमै बगेर घट्दै गएकाले यदि पानीको बहाव नियन्त्रणभित्रै रहेमा र दुईदेखि तीन दिनभित्र पूर्ण रूपमा घटेमा तल्लो तटीय क्षेत्रमा खोजी तथा उद्धार कार्य सुरक्षित रूपमा जारी राख्न सकिने जलस्रोत मन्त्रालयका विज्ञहरूले बताएका छन्।
तालमा कुनै पनि अस्वाभाविक गतिविधि देखिएमा उद्धारकर्ताहरूलाई कम्तीमा ३० मिनेटअगावै चेतावनी जारी गरी तत्काल सुरक्षित स्थानमा सार्न सकिने व्यवस्था मिलाइएको विज्ञहरूलाई उद्धृत गर्दै सिसिटिभीले जनाएको छ।
बिहीबारदेखि नै तालको अनुगमन गरिरहेको चीनको सरकारी इन्जिनियरिङ तथा उद्धार कम्पनी ‘चाइना अन्नेङ’ ले ताल वरपर २४ सै घण्टा निगरानी राख्न राडार र ड्रोनहरू परिचालन गरेको छ।
शुक्रबार तालबाट सुरुमा भएको ओभरफ्लोका कारण उद्धार कार्य केही समयका लागि रोकिएको थियो, तर पछि गरिएको मूल्याङ्कनले जोखिम नियन्त्रणभित्रै रहेको निष्कर्ष निकालेको थियो।
अधिकारीहरूले हिमनदी खसेको फेदमा अर्को ठूलो जलासयसमेत रहेको पहिचान गरेका छन्।
“हामीले यसको क्षेत्रफल १ लाख २० हजार वर्गमिटरभन्दा बढी रहेको अनुमान गरेका छौँ, तर यसको गहिराइ भने हालसम्म थाहा हुन सकेको छैन,” प्राकृतिक स्रोत मन्त्रालयको भूगर्भीय विपद् प्राविधिक मार्गदर्शन केन्द्रका वरिष्ठ इन्जिनियर चेन होङछीले भने।
दुवै तालको पानी पूर्ण रूपमा नघटेसम्म बाढीको जोखिम कायम नै रहने नेपालको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका एक अधिकारीले बताएका छन्।
शनिबार बिहानको चिसो र झरीका बीच ५० भन्दा बढी उद्धारकर्ताहरूले ढुङ्गा र लेदोको भग्नावशेष पन्छाउँदै जीवितै रहेकाहरूको खोजी जारी राखेका थिए।
शुक्रबार दिउँसो पहिलो उद्धार टोली र तालिमप्राप्त कुकुर केरुङ (ग्याइरोङ) सीमा नाका क्षेत्रमा पुग्दा सिङ्गो संरचना भग्नावशेषमा परिणत भइसकेको पाइएको थियो।
मुख्य विपद्ग्रस्त क्षेत्रको जोखिमपूर्ण अवस्था, ध्वस्त भएका सडक र अवरुद्ध सञ्चार सम्पर्कका कारण चीनका तर्फबाट भइरहेका राहत तथा उद्धार कार्यमा बाधा पुगिरहेको सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।
मौसम पूर्वानुमान अनुसार आगामी तीन दिनसम्म सो क्षेत्रमा रोकिएर पानी पर्ने सम्भावना छ।
अधिकारीहरू सीमा बन्दरगाह जोड्ने मुख्य राजमार्ग खुलाउन तीव्र गतिमा काम गरिरहेका छन्। शनिबार दिउँसोसम्म उद्धार टोलीहरू घटनास्थलबाट करिब १.५ किलोमिटर नजिक पुगिसकेका छन्।
चीनतर्फ मृतकको सङ्ख्या बढेर सात पुगेको छ भने ५५४ जना अझै बेपत्ता छन्।
सो क्षेत्रमा रहेका करिब ५०० गाउँले तथा निर्माण कामदार र ५५५ जना पर्यटकलाई सुरक्षित स्थानमा सारिएको सिन्ह्वाले जनाएको छ।
हिमनदी खस्नुको मुख्य कारण अझै स्पष्ट भइसकेको छैन, तर जलवायु विज्ञहरूले भूमण्डलीय तापक्रम वृद्धि (ग्लोबल वार्मिङ) यसको एउटा कारक हुन सक्ने बताएका छन्।
“यो भूकम्पका कारण भएको हो वा अत्यधिक तापक्रमका कारण हिमनदी पग्लेर भएको हो भन्नेमा हामी अझै पूर्ण रूपमा निश्चित छैनौँ,” हङकङ सिटी युनिभर्सिटीको स्कूल अफ इनर्जी एन्ड एन्भाइरोन्मेन्टका डिन बेन्जामिन होर्टनले भने।
सामाजिक सञ्जालमा सार्वजनिक भई रोयटर्सले पुष्टि गरेका भिडियोहरूमा लाङटाङ लिरुङ हिमालको चुचुरो नजिकैको हिमनदीको तल्लो भाग फुटेर तल उपत्यकामा खसेको र त्यसले हिउँ, चट्टान र ठूलो पहिरो निम्त्याएको देखिन्छ।
“हामीले पहिरो जानुका कारणहरू पूर्ण रूपमा बुझ्न नसक्नुको एउटा कारण तथ्याङ्क (डाटा) को कमी हो। त्यसैले विज्ञान र समाजमा थप लगानी आवश्यक छ,” होर्टनले थपे।
No ads found for this position

डिसी नेपाल
Facebook Comment