स्टारलिंकले बाढी प्रभावित क्षेत्रमा निःशुल्क स्याटलाइट इन्टरनेट दिने, नेपाल सरकारको अनुमति माग्यो
काठमाडौँ। अमेरिकास्थित स्पेसएक्स अन्तर्गतको स्याटलाइट इन्टरनेट सेवा प्रदायक स्टारलिंकले नेपाल-चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रहरूमा उद्धार तथा राहत कार्यलाई सघाउन निःशुल्क इन्टरनेट सेवा र किटहरू उपलब्ध गराउने घोषणा गरेको छ।
कम्पनीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत एक सन्देश जारी गर्दै नेपाल सरकार र मानवीय सहायता संस्थाले अनुमति दिनेबित्तिकै प्रभावित क्षेत्रमा आफ्नो सेवा परिचालन गर्न तयार रहेको जनाएको छ।
बाढी र पहिरोका कारण सडक, पुल तथा टेलिफोन/मोबाइल नेटवर्कहरू पूर्ण रूपमा अवरुद्ध भएका बेला उद्धार टोलीहरूबीचको समन्वय, घाइतेको उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा आफन्त खोजिरहेका परिवारहरूलाई सम्पर्कमा जोड्न स्याटलाइट सञ्चार अत्यन्त प्रभावकारी हुने कम्पनीले जनाएको छ।
स्टारलिंकको किट (उपकरण) अनबक्स गरी पावर सोर्स (विद्युत् वा जेनेरेटर) र खुला आकाश पाउनेबित्तिकै केही मिनेटभित्रै उच्च गतिको ‘लो-लेटेन्सी’ इन्टरनेट सञ्चालन गर्न सकिने बताइएको छ।
नेपालमा सञ्चार प्रणाली र टेलिफोन टावरहरूमा ठूलो क्षति पुगेको यो विषम स्थितिमा उद्धार तथा राहत प्रक्रियालाई सहज बनाउन स्टारलिंकले सरकारको अनुमतिको प्रतीक्षा गरिरहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment