गगन थापाले देउवालाई भेट्न समय नपाएको दाबी ‘मिडियाबाजी’ मात्रै: गुरु बराल
काठमाडौं। नेपाली काङ्ग्रेसभित्र १५ औँ महाधिवेशनको तयारी चलिरहेका बेला विशेष महाधिवेशनको वैधानिकतासम्बन्धी विवाद सर्वोच्च अदालतको पुनरावलोकन बेञ्चमा विचाराधीन छ।
यसै विवादका बिच काङ्ग्रेस नेता गुरु बरालले विशेष महाधिवेशनले पार्टीलाई इतिहासकै सबैभन्दा कमजोर अवस्थामा पुर्याएको दाबी गरेका छन्। उनले आफूहरू १४ औँ महाधिवेशनको वैधानिकताका आधारमा समानान्तर रूपमा १५ औँ महाधिवेशनको तयारीमा जुटेको जानकारी दिएका छन्।
विशेष महाधिवेशनपछि बनेको नेतृत्वलाई निर्वाचन आयोगले वैधता दिएपछि त्यसविरुद्ध पार्टीभित्रको एक पक्ष सर्वोच्च पुगेको थियो। अदालतले आयोगको निर्णयलाई सदर गरे पनि त्यसविरुद्ध पुनरावलोकनको निवेदन दर्ता भएपछि अहिले मुद्दा सर्वोच्चको पूर्ण बेञ्चमा विचाराधीन छ। यही प्रक्रियाबिच दुवै पक्षले महाधिवेशनको तयारीलाई निरन्तरता दिइरहेका छन्।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा नेता बरालले विशेष महाधिवेशनलाई वैध ठहर गर्ने निर्वाचन आयोगको निर्णय संविधान, ऐन र पार्टीको परम्पराविपरीत रहेको आरोप लगाए। उनले निर्वाचन आयोगमा ‘सेटिङ’ भएको दाबी गर्दै त्यसविरुद्ध सर्वोच्चमा पुनरावलोकनको कानुनी लडाइँ जारी रहेको बताए।
डिभिजन बेञ्चको निर्णयप्रति राजनीतिक असहमति भए पनि कानुनी राज्य मान्ने पार्टीका रूपमा त्यसलाई सम्मान गर्दै न्यायको अपेक्षा राखिएको उनको भनाइ छ। उनले सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्ने विश्वास व्यक्त गरे।
विवादलाई जित–हारको विषय बनाउनुको सट्टा एकताबाट समाधान खोज्नुपर्नेमा जोड दिँदै बरालले कमजोर काङ्ग्रेसले लोकतन्त्र र राष्ट्रियता दुवै जोगाउन नसक्ने स्पष्ट पारे। सानेपास्थित नेतृत्वसँग पटक–पटक संवादको प्रयास गर्दा पनि बेवास्ता गरिएको आरोप उनले लगाए। विशेष महाधिवेशनबाट अगाडि बढेको नेतृत्वले चुनावमा पराजय बेहोरेकाले यसले पार्टीको राजनीतिक हैसियत खस्काएको तर्क पनि उनले गरे।
सर्वोच्च अदालतले पुनरावलोकन मुद्दामा अन्तिम निर्णय नगरेसम्म आफ्ना राजनीतिक गतिविधि जारी रहने उनले बताए। भदौ १७ गते बस्ने केन्द्रीय समितिको बैठकबाट नयाँ कार्यतालिका सार्वजनिक गरी समानान्तर महाधिवेशनको औपचारिक तयारी अगाडि बढाइने उनले जानकारी दिए।
पार्टी सभापति शेरबहादुर देउवालाई लक्षित आलोचनाबारे टिप्पणी गर्दै बरालले केही नेताले योजनाबद्ध रूपमा देउवालाई बदनाम गर्ने प्रयास गरेको आरोप लगाए। महामन्त्री गगन थापाले देउवालाई भेट्न समय नपाएको भन्ने विषयलाई उनले ‘मिडियाबाजी’ को संज्ञा दिए।
महामन्त्रीले सभापतिलाई भेट्न पत्रकार सम्मेलन गर्नुपर्ने अवस्था नरहने भन्दै समय नदिएको प्रचार कृत्रिम भएको उनको दाबी छ। पार्टीभित्र विश्वासको वातावरण कमजोर बनेको र नेतृत्व पक्षले प्रतिबद्धताविपरीत व्यवहार गरेकाले संवाद कठिन भएको भए पनि डा. शशाङ्क कोइरालाले एकताका लागि निरन्तर पहल गरिरहेकाले एकताको सम्भावना अझै बाँकी रहेको उनले बताए।
यसैबिच, बरालले देशमा लगातार देखिएका प्राकृतिक विपत्तिलाई राजनीतिक र सामाजिक आत्मसमीक्षासँग जोडेर व्याख्या गरे। पलाञ्चोक भगवतीको मन्दिरमा पसिना आएको घटनापछि ठुलो विपत्ति आएको प्र प्रसङ्ग उल्लेख गर्दै उनले नेपालको सांस्कृतिक र आध्यात्मिक पक्षलाई बेवास्ता गर्न नहुने धारणा व्यक्त गरे। विकास र सुधारका नाममा प्रकृति र समाजसँगको सन्तुलन बिग्रेकाले राजनीतिक दलहरूले आत्मसमीक्षा गरेर ‘कोर्स करेक्सन’ गर्नुपर्ने समय आएको उनले बताए।
वर्तमान राष्ट्रिय सङ्कटका बेला काङ्ग्रेस विभाजित हुनु देशका लागि हितकर नहुने भन्दै उनले सर्वोच्चको अन्तिम निर्णयपछि पार्टीलाई एउटै वैधानिक प्रक्रियाबाट अघि बढाउनुपर्ने अडान दोहोर्याए। यद्यपि वर्तमान नेतृत्व त्यसमा तयार नदेखिएकाले समानान्तर महाधिवेशनको तयारी आफूहरूको राजनीतिक बाध्यता बनेको उनको भनाइ छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment