बाढी प्रभावित क्षेत्रमा प्रविधिसहित आठ हजार प्रहरी तैनाथ, अस्पताल र विमानस्थलमा ‘फोकल डेस्क’ स्थापना
काठमाडौं। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा नागरिकको खोजी, जनधनको सुरक्षा, उद्धार तथा राहत व्यवस्थापनका लागि सरकारले आठ हजारको सङ्ख्यामा प्रहरी परिचालन गरेको छ। प्रभावित क्षेत्रका बहुआयामिक समस्याहरू सम्बोधन गर्न र सम्भावित विपद्जन्य जोखिम न्यूनीकरण गर्न विभिन्न प्रदेश तथा प्रहरी युनिटहरूबाट टोलीहरू खटिएका छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार प्रधान कार्यालयबाट १,६०२ जना, बागमती प्रदेशबाट २,१८२ जना, गण्डकी प्रदेशबाट १,३०९ जना, लुम्बिनी प्रदेशबाट ६४० जना र काठमाडौँ उपत्यका प्रहरी कार्यालयबाट ७५४ जना परिचालन भएका छन्।
यसैगरी प्रहरी अस्पताल महाराजगञ्जबाट ३९७ जना, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट ४५० जना, प्रहरी शिक्षालयबाट ३५६ जना र प्रहरी युक्ति तालिम केन्द्र जर्गाहबाट २२२ जना प्रहरी खटिएका छन्।
बाढी प्रभावित क्षेत्रहरूमा प्रभावकारी कार्यसम्पादनका लागि प्रहरी प्रधान कार्यालयमा आपत्कालीन समन्वय केन्द्र स्थापना गरिएको छ। तथ्याङ्क व्यवस्थापन तथा विपद् सम्बन्धी सम्पूर्ण कार्यका लागि प्रहरी नायब महानिरीक्षक (डीआईजी) को नेतृत्वमा २४सै घण्टा सञ्चालन हुने गरी विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र गठन गरिएको छ।
विपद्का बेला घाइतेको उपचार र मृतकका परिवारसँगको समन्वयका लागि प्रहरीले अस्पताल र विमानस्थलमा फोकल डेस्क स्थापना गरेको छ। घाइतेहरूको उपचार भइरहेका तथा शव सङ्कलन गरिएका अस्पतालहरूमा प्रहरी नायब उपरीक्षकहरूको नेतृत्वमा विशेष टोली खटाइएको छ।
जसअनुसार त्रिवि शिक्षण अस्पतालमा प्रहरी नायब महानिरीक्षकको नेतृत्वमा ६२ जना, वीर अस्पतालमा ३० जना, सिभिल अस्पतालमा १३ जना र काठमाडौँ मेडिकल कलेजमा ५ जना प्रहरी खटिएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी उपरीक्षक (एसपी) को नेतृत्वमा ८ जना प्रहरी सम्मिलित डेस्क स्थापना गरी स्वदेशी तथा विदेशी नागरिकको शव व्यवस्थापन र घाइतेहरूको लगत तयार पार्ने काम भइरहेको छ।
बाढीग्रस्त क्षेत्रमा खोजी कार्यलाई तीव्रता दिन प्रविधिको उच्च प्रयोग गरिएको छ। रसुवा, नुवाकोट र धादिङमा गरी १२ वटा ड्रोन परिचालन गरिएका छन्। दुर्गम क्षेत्रमा ड्रोनका माध्यमबाट निगरानी र खोजी भइरहेको छ।
खोजी कार्यका लागि ५ वटा तालिमप्राप्त कुकुर र सञ्चार विच्छेद भएका क्षेत्रहरूमा ७ वटा स्याटेलाइट फोन प्रयोगमा ल्याइएको छ। घटनास्थल अनुसन्धानका लागि ६७ जना तथा शव पहिचान र व्यवस्थापनका लागि ७१५ जना प्रहरी खटिएका छन्।
शवहरूको डीएनए लगायतका वैज्ञानिक परीक्षणका लागि फरेन्सिक विज्ञ र सिन अफ क्राइम अफिसरको विशेष टोलीका साथै प्रहरी अस्पतालका विशेषज्ञ चिकित्सकहरू प्रभावित क्षेत्रमा तैनाथ छन्।
बाढी लगत्तै हुन सक्ने चोरी, लुटपाट र ठगीजस्ता आपराधिक गतिविधि नियन्त्रण गर्न सुरक्षा व्यवस्था कडा पारिएको छ। यस क्रममा चितवनको नारायणी नदीले बगाएर ल्याएको एक महिलाको शवबाट सुनका गहना निकाल्दै गरेको अवस्थामा मदनपुरका २५ वर्षीय मदन गुरुङ र ३८ वर्षीय उमेश चौधरीलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ।
यस्तै, धादिङको बेल्खुखोलास्थित त्रिशूली नदी किनारमा फेला परेको बैंकको सेफ तोडेर नगद हिनामिना गर्ने २९ जना स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिई ९२ लाख ६८ हजार ५०५ रुपैयाँ बरामद गरेको छ।
सामाजिक सञ्जालमार्फत बाढीपीडितका नाममा नक्कली पोस्ट बनाएर रकम असुल गर्न खोज्ने रामेछाप गोकुलगङ्गाका ३२ वर्षीय सृजन कार्कीलाई पनि प्रहरीले पक्राउ गरेको छ। यसैबिच, धादिङको बैरेनी बजारमा लेदोले पुरिएको अवस्थामा तथा परेवाटार मलेखुस्थित त्रिशूलीको बगरमा अन्य सेफहरू फेला परेका छन्, जसलाई प्रहरीले सुरक्षित राखेको छ।
बाढीको बहाव पहाडबाट तराईतर्फ सर्दै गर्दा जोखिम न्यूनीकरणका लागि चितवनको नारायणी नदी आसपास क्षेत्रमा मात्रै ७५७ प्रहरी परिचालन गरिएको छ। विपद्को यस संवेदनशील घडीमा नागरिकको सुरक्षा, राहत र उद्धारमा नेपाल प्रहरी निरन्तर सक्रिय रहेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment