बाढीपीडितको सहयोगका लागि भन्सार एजेन्ट संघद्वारा २ लाख रुपैयाँ सहयोग
काठमाडौं। नेपाल भन्सार एजेन्ट संघ काठमाडौँले हालैको भीषण बाढीबाट प्रभावितहरूको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी उद्धार कोषमा २ लाख रुपैयाँ सहयोग गरेको छ।
चीनको तिब्बततर्फबाट अचानक आएको भीषण बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेंसीलगायत क्षेत्रमा ठुलो जनधनको क्षति पुर्याएपछि संघले सरकारको ध्यानाकर्षणसमेत गराएको भन्सार एजेन्ट भोजराज देवकोटाले जानकारी दिए।
भन्सार एजेन्ट महासंघको आह्वानमा भन्सार एजेन्ट संघ काठमाडौँले त्रिविस्थल कार्यालयका प्रमुख भन्सार प्रशासक रामकृष्ण पुडासैनीमार्फत उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको देवकोटाले बताए।
संघका अध्यक्ष होमनाथ धमलाद्वारा जारी विज्ञप्तिमा बाढीका कारण रसुवा भन्सार क्षेत्रमा कार्यरत भन्सार एजेन्ट, कर्मचारी, सुरक्षाकर्मी, व्यवसायी तथा पर्यटकहरू ठुलो संख्यामा सम्पर्कविहीन भएको भन्दै गहिरो चिन्ता व्यक्त गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘सम्पर्कविहीन हुनुभएका सम्पूर्ण सहकर्मी तथा नागरिकहरूको शीघ्र खोजी, प्रभावकारी उद्धार र सुरक्षित पुनर्मिलनका लागि हामी सरकार र सम्बन्धित निकायसँग जोडदार माग गर्दछौँ।’ संघले प्रभावित क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन र सरकारी निर्देशनको पूर्ण पालना गर्न समेत अपिल गरेको छ।
यस दुःखद समयमा सम्पूर्ण भन्सार एजेन्ट परिवार, उद्योगी–व्यवसायी र आम नागरिकलाई मानवीय सहयोग, सहकार्य र एकताका साथ पीडितको पक्षमा उभिन संघले आग्रह गरेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment