पर्यटन विकास कार्यालय गौरका तत्कालीन प्रमुखसहित पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

डिसी नेपाल
१६ भदौ २०८३ १७:०७

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विकास कार्यालय गौर, रौतहटका तत्कालीन निमित्त कार्यालय प्रमुख राजेश काफ्लेसहित पाँचजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

रौतहटको परोहा नगरपालिका–९ स्थित राधाकृष्ण मन्दिरको अधुरो भवन मर्मत तथा निर्माण कार्यमा मापदण्डविपरीत न्यून गुणस्तरको काम गरी अनियमितता गरेको आरोपमा मङ्गलबार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

मुद्दा दायर गरिएकाहरूमा तत्कालीन निमित्त कार्यालय प्रमुख काफ्लेसहित इन्जिनियरद्वय सुदिप प्रकाश तिमल्सेना र नितिश कुमार पटेल रहेका छन्। उनीहरूविरुद्ध जनही ६ लाख ८० हजार ५९२ रुपैयाँ बिगो मागदाबी गरिएको छ।

यसैगरी, सोही निर्माण योजनाका उपभोक्ता समितिका अध्यक्ष खहेरी साह तेली र कोषाध्यक्ष कुन्ती देवीलाई समेत विपक्षी बनाइ आरोपपत्र दायर गरिएको छ।

आर्थिक वर्ष २०८१/८२ मा पर्यटन विकास कार्यालय गौरबाट विनियोजित बजेटअनुसार कार्यालय र मन्दिर निर्माण उपभोक्ता समितिबीच सम्झौता भई कार्य सम्पन्न भएको थियो। तर, छानबिनका क्रममा स्वीकृत लागत अनुमान र वास्तविक कामभन्दा बढी काम गरेको झुट्टा बिल तथा कार्यसम्पादन प्रतिवेदन तयार गरी ६ लाख ८० हजार ५९२ रुपैयाँ ४३ पैसा गैरकानुनी भुक्तानी लिएको भेटिएको हो।

अख्तियारले उनीहरू सबैजनामाथि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो असुलउपर गरी कैद र जरिवाना सजायको मागदाबी गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *