भोजपुरमा कुटपिट गरी शिक्षकको हत्या गरेको आरोपमा ११ जना पक्राउ
भोजपुर। भोजपुरमा कुटपिट गरी एक शिक्षकको हत्या गरेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार साल्पासिलिछो गाउँपालिका–५ माबुस्थित भदौरे मेलामा सहभागी हुन आएका खोटाङको केपिलासगढी गाउँपालिका–७ का ३९ वर्षीय भानुभक्त राईलाई पुरानो विवादका कारण कुटपिट गरिएको थियो। गत भदौ ११ गते राति करिब ११: ४५ बजे भएको कुटपिटबाट राईको मृत्यु भएको प्रहरीले जनाएको छ।
राई स्थानीय सूर्य माध्यमिक विद्यालयमा राहत कोटामा शिक्षकका रूपमा कार्यरत थिए। घटनाको मौखिक जानकारी प्राप्त भएपछि प्रहरी टोली तत्काल घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको थियो। घटनामा संलग्न भएको आशंकामा प्रहरीले भदौ १२ गते ११ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा केपिलासगढी गाउँपालिका–७ का २१ वर्षीय प्रवेश भन्ने सागर कोयी राई, २१ वर्षीय मौली भन्ने प्रतीक राई, २५ वर्षीय माइकल भन्ने निशान राई, २३ वर्षीय सुशील राई, ३२ वर्षीय शेरबहादुर भन्ने अमर राई, ३० वर्षीय उमेश भन्ने उमेश दुमी राई, ३५ वर्षीया तारादेवी राई, ४८ वर्षीया सुमिता राई, ४३ वर्षीया तेजकुमारी राई, १९ वर्षीया देविका राई र २० वर्षीया चन्द्रकला राई रहेका छन्।
पक्राउ परेकाहरूमाथि भोजपुर जिल्ला अदालतबाट भदौ १४ गते पाँच दिनको म्याद थप गरी प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment