भोटेकोशी बाढी: शव पहिचानका लागि प्रहरी अस्पतालमा डीएनए ‘प्रोफाइलिङ’ सुरु
काठमाडौं। नेपाल प्रहरी अस्पतालले रसुवाको भोटेकोशीमा आएको बाढीमा मृत्यु भएका नेपाली तथा विदेशी नागरिकका शव र अङ्ग पहिचानका लागि डीएनए ‘प्रोफाइलिङ’ सुरु गरेको छ। बाढीमा परी सम्पर्कविहीन भएका नागरिकका परिवारसँग डीएनए नमुना दाँजेर शवको यकिन पहिचान गर्न यो प्रक्रिया थालिएको हो।
प्रहरी अस्पतालका अनुसार बुधबार दिउँसो ५ बजेसम्म सम्पर्कविहीन भएका व्यक्तिहरूका आफन्तबाट ५३९ वटा डीएनए नमुना सङ्कलन गरिसकिएको छ। नमुना दिनका लागि हराइरहेका व्यक्तिका परिवारले आफ्नो परिचय खुल्ने कागजात र दुई प्रति फोटोसहित अस्पतालमा सम्पर्क गर्नुपर्नेछ। फाराम भर्न नसक्नेहरूका लागि अस्पतालले सहजीकरणको व्यवस्था मिलाएको छ।
प्रहरी अस्पतालका प्रवक्ता रामेश्वर अधिकारीका अनुसार सङ्कलित नमुनाहरू नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला तथा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट) मा परीक्षणका लागि पठाइनेछ।
बाढी प्रभावित क्षेत्रमा खटिएको प्रहरी टोलीले मुचुल्का उठाउने, कानुनी प्रक्रिया पूरा गर्ने, शवलाई सुरक्षित झोलामा राख्ने र फोरेन्सिक विशेषज्ञको सहयोगमा शव परीक्षण गर्ने काम गरिरहेको छ। पहिचान सहज बनाउन शवका तस्बिर र उपलब्ध विवरणहरू सार्वजनिक प्रदर्शनमा समेत राखिएका छन्।
त्यस्तै, तत्काल पहिचान खुल्न नसकेका प्रत्येक शवलाई छुट्टाछुट्टै सङ्केत कोड नम्बर दिई उनीहरूको हुलिया, कपडा र साथमा फेला परेका सामग्रीको व्यवस्थित अभिलेख राखिएको प्रहरीले जनाएको छ। डीएनए परीक्षणका लागि हराइरहेका व्यक्तिको नजिकको नाता—बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाको रगतको नमुना आवश्यक पर्नेछ।
विदेशी नागरिकका हकमा भने उनीहरूको स्वदेशमै रहेका बाबु, आमा, छोरा वा छोरीले उतै डीएनए प्रोफाइलिङ गरी त्यसको ‘सफ्ट कपी’ नेपाल प्रहरीको आधिकारिक इमेलमा पठाउन सक्ने व्यवस्था मिलाइएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment