बैतडीमा जिप दुर्घटना : सात जना घाइते, चालक फरार
बैतडी । बैतडीको सुर्नया गाउँपालिका–२ लिस्किटामा बुधबार दिउँसो जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन्। सतबाझबाट रामकीबरायलतर्फ जाँदै गरेको बाप्र.०३१ च ९३६८ नम्बरको जिप दिउँसो साढे ५ बजे अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेको हो।
दुर्घटनामा परेर जिपमा सवार ११ जनामध्ये सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए।
घाइते हुनेहरूमा सुर्नया–२ का ६५ वर्षीय हजारी बिष्ट, ३१ वर्षीया सुशीला भण्डारी र ७ वर्षीया दिप्ती बिष्ट रहेका छन्। यस्तै सुर्नया–६ रिगाकी २० वर्षीया दिपिका कुँवर तथा सुर्नया–५ स्वालीका ३० वर्षीय हरिस विक, ४३ वर्षीय तिलक चन्द र ३० वर्षीय दिपक चन्द घाइते भएका छन्।
घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाइएको छ। प्रहरीका अनुसार घाइतेमध्ये अधिकांशको अवस्था सामान्य छ भने ६५ वर्षीय हजारी बिष्टको अवस्था मध्यम रहेको छ।
दुर्घटनापछि सुर्नया गाउँपालिका–५ रौलेश्वरका २८ वर्षीय जिप चालक रोशन बिष्ट फरार रहेका छन्। उनको खोजी भइरहेको प्रहरी निरीक्षक सिंहले बताए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment