कृष्णभीरमा फेरि बल्झियो पहिरोको समस्या, पृथ्वी राजमार्ग अवरुद्ध

डिसी नेपाल
१८ भदौ २०८३ ९:०८

धादिङ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा पहिरो खसेपछि सडक आवागमन अवरुद्ध भएको छ । भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशूली नदीको बहाव बढ्दा गत भदौ १४ गते कृष्णभीरमा नदी किनारबाटै जमिन भासिएपछि राजमार्गमा यातायात प्रभावित भएको हो ।

नदीको कटानसँगै जमिन भासिएर सडकको ठूलो हिस्सा जोखिममा परेपछि पृथ्वी राजमार्ग हुँदै आवतजावत गर्ने सवारीसाधन प्रभावित भएका छन् । सडक सञ्चालनका लागि सम्बन्धित निकायले आवश्यक पहल गरिरहेको जनाइएको छ ।

कृष्णभीरमा यसअघि पनि पटकपटक पहिरो खस्ने गरेको थियो । साढे दुई दशकअघि यहाँ निरन्तर पहिरो खस्दा यात्रु तथा स्थानीयवासीले लामो समयसम्म सास्ती बेहोर्नुपरेको थियो ।

त्यतिबेला पहिरो नियन्त्रणका लागि निर्माण गरिएका संरचनाको करिब २० वर्षको आयु पूरा भएपछि कृष्णभीरमा फेरि पुरानै समस्या दोहोरिएको हो । नदी कटान र पहिरोका कारण सडक तथा आसपासको भूभाग थप जोखिममा परेकाले दीर्घकालीन रूपमा पहिरो नियन्त्रण तथा सडक संरक्षणका लागि नयाँ संरचना निर्माण गर्नुपर्ने आवश्यकता देखिएको छ ।

भोटेकोशी बाढीपछि त्रिशूली नदीको बहाव बढेसँगै नदी किनारका विभिन्न क्षेत्रमा कटान र जमिन भासिने समस्या देखिएको छ । कृष्णभीरको पछिल्लो अवस्थाले पृथ्वी राजमार्गको यो खण्ड अझै जोखिममा रहेको देखाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *