पहिरो नियन्त्रण संरचनाको आयु सकिएपछि कृष्णभीरमा २५ वर्ष पुरानै सास्ती बल्झियो (तस्बिरसहित)
धादिङ।। पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा खसेको पहिरोले यातायात सेवा पुनः ठप्प भएको छ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण त्रिशुली नदीको बहाव अत्यधिक बढेपछि गत भदौ १४ गते कृष्णभीरस्थित नदी किनारबाटै जमिन भासिएर पहिरो जाँदा आवागमन पूर्ण रूपमा अवरुद्ध भएको हो।
करिब साढे दुई दशकअघि कृष्णभीरमा पटक-पटक भीषण पहिरो खस्दा काठमाडौँ भित्रिने र बाहिरिने मुख्य राजमार्ग दिनौँसम्म ठप्प हुने गर्दथ्यो।
पछि जैविक प्रविधि (बायो-इन्जिनियरिङ) तथा आधुनिक प्रविधिको प्रयोग गरी पहिरो नियन्त्रण संरचना निर्माण गरिएपछि केही वर्षयता यो क्षेत्र सुरक्षित मानिँदै आएको थियो।
तर, उक्त पहिरो नियन्त्रण संरचनाको २० वर्षको आयु (डिजाइन लाइफ) सकिएसँगै कृष्णभीरमा फेरि पुरानै समस्या दोहोरिएको छ। जैविक तथा भौतिक संरचना कमजोर बन्दै गएको र नदीको कटान तीव्र भएकाले जमिन तलैबाट धसिन थालेपछि सडक यातायात पुनः जोखिममा परेको प्राविधिकहरू बताउँछन्।
राजमार्ग अवरुद्ध भएसँगै काठमाडौं उपत्यकालाई देशका अन्य भूभागसँग जोड्ने मुख्य जीवनरेखा प्रभावित बनेको छ। सयौँ सवारी साधन र हजारौँ यात्रुहरू बाटोमै अलपत्र परेका छन्।
सडक विभाग तथा स्थानीय प्रशासनले पहिरो हटाई सडक सञ्चालनमा ल्याउने प्रयास गरिरहे पनि नदीको सतह उच्च रहेको र जमिन भासिने क्रम नरोकिएका कारण पन्छाउने काम चुनौतीपूर्ण बनेको छ।
दीर्घकालीन समाधानका लागि पुन: नयाँ प्रविधि र बलियो तटबन्धसहितको संरचना निर्माण नगरेसम्म कृष्णभीरको जोखिम कायम रहने देखिएको छ।






No ads found for this position


डिसी नेपाल
Facebook Comment