प्रधानमन्त्री बालेन शाह र कुलमान घिसिङबीच भेटवार्ता: उद्धार, राहत र सुरङ संकटबारे छलफल

डिसी नेपाल
१८ भदौ २०८३ १३:१३

काठमाडौं। प्रधानमन्त्री बालेन शाहसँग उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बिहीबार भेटवार्ता गरेका छन्।

बाढीप्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि आफ्नो टोलीले देखेका समस्या, आवश्यकता र भावी रणनीतिका विषयमा सरकारलाई सुझाव दिन घिसिङ सिंहदरबार पुगेका हुन्।

भेटका क्रममा घिसिङ नेतृत्वको टोलीले विपद्पछिको खोज, उद्धार, राहत तथा पुनर्स्थापना (रेस्क्यु, रिलिफ र रिसेटलमेन्ट) का लागि सरकारले गर्नुपर्ने तत्काल र दीर्घकालीन कदमहरूबारे मौखिक तथा लिखित सुझाव प्रस्तुत गरेको छ।

भेटमा मुख्य गरी जलविद्युत् आयोजनाका सुरङभित्र थुनिएका नागरिकहरूको उद्धारका विषयमा गहन छलफल भएको थियो। प्रधानमन्त्री बालेन शाहले सुरङमा फसेका मानिसहरूलाई कसरी छिटो र सुरक्षित रूपमा बाहिर निकाल्न सकिन्छ भन्नेबारे विशेष चासो र जिज्ञासा राखेका थिए।

घिसिङले सुरङभित्रको प्राविधिक जटिलताबारे आफ्नो अध्ययन र अनुभवका आधारमा सुझाव दिएका थिए। प्रतिक्रियामा प्रधानमन्त्री शाहले जुनसुकै अवस्थामा र जस्तोसुकै स्रोतसाधन परिचालन गरेर भए पनि उद्धार कार्यलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।

“उहाँले सुरङभित्र फसेका नागरिकको उद्धारका लागि स्वदेशी प्रविधिको अधिकतम प्रयोग गर्ने र आवश्यक परे विदेशी विज्ञ तथा प्राविधिकहरू समेत तत्काल झिकाएर काम गर्ने तयारी सरकारले गरिसकेको बताउनुभयो,” भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै घिसिङले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *