जुम्लाका किसानलाई स्याउ टिप्न चटारो
जुम्ला। जुम्लाका किसान यतिबेला स्याउ टिप्ने चटारोमा छन्। आवश्यक परिपक्वता तथा गुलियोपन भरिएसँगै किसान यतिबेला बगैँचामा भेटिन थालेका छन्। उनीहरूलाई यतिबेला स्याउ टिप्न भ्याइनभ्याइको अवस्था रहेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले जानकारी दिए।
घरमै प्रतिकिलो रु ९० मा स्याउ बिक्री हुने गरेको छ। गाउँकै स्थानीय व्यापारीले सुर्खेत, नेपालगन्ज लैजाने गरेका छन्। स्थानीय नर रावतले यस वर्ष उल्लेख्य मात्रामा स्याउ फलेको जानकारी दिए।
चन्दननाथ नगरपालिका–८ का स्याउ व्यापारी लछी भण्डारीका अनुसार किसानका बगैँचामा पुगेर स्याउ खरिद गर्न थालिएको छ। करिब ९१ क्न्विटल स्याउ खरिद गरिएको छ। थप ९०० कार्टुन खरिदका लागि किसानको स्याउका बगैँचामा पुगेको उनले बताए।
यहाँको तातोपानी गाउँपालिका–६ स्थित बाँजारावलामा सात हजार १४० रोपनी क्षेत्रफलमा सामूहिक रूपमा स्याउखेती गरिएको छ। यहाँका ५२ किसान मिलेर सामूहिक रूपमा स्याउखेती गरेका छन्। यो वर्षमात्र छ हजार ५०० बिरुवाले फल दिन थालेको छ। उक्त स्याउ बगैँचामा करिब ३४ देखि ३५ मेट्रिक टन अनुमानित स्याउ उत्पादन भएको कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले जानकारी दिए।
सो बगँैचाबाट मात्र ३० लाखबराबरको स्याउ बिक्री हुने अनुमान गरिएको छ। अहिले जिल्लाभर औसत रूपमा प्रतिकेजी रु ९० मा व्यापारीले स्याउ खरिद गरेको कृषि विकास कार्यालयका प्रमुख अधिकारीको भनाइ छ। जिल्लाबाट निर्यात भएको स्याउको एकिन तथ्याङ्क राख्न जुम्ला र कालीकोटको सिमानामा रहेको नाग्म प्रहरी चौकीलाई जिम्मा दिएको कृषि विकास कार्यालयले जनाएको छ।
गत वर्षभन्दा यस वर्ष स्याउ उत्पादन केही घटेको अनुमान गरिएको छ। सही तथ्याङ्क आउन केही समय लाग्ने छ। यहाँका स्याउ किसानलाई ५० प्रतिशत अनुदानमा बिरुवा दिने गरेको छ।
गोल्डेन जातको स्याउ असोज लागेपछि राम्रोसँग पाक्ने हुँदा हाल स्थानीय जातको मात्रै बिक्री वितरण भएको छ। विशेषगरी सडक सञ्जालसँग जोडिएका बगैँचाका स्याउ सङ्कलन गरेर व्यापारीले तराईका जिल्लामा बिक्रीका लागि लगिसकेका छन्।
हालसम्म जिल्लामा उत्पादित मध्ये ३० प्रतिशत स्याउ जिल्लाबाट निर्यात भइसकेको छ। जुम्लामा झन्डै ९२ हजार ८० रोपनी क्षेत्रफलमा स्याउखेती हुने गरेको छ। चालु आवमा दुई हजार १६० रोपनी थप क्षेत्रफलमा स्याउखेती विस्तार गरिने छ। जिल्लामा स्थानीय जातको जुम्ली स्याउ, इटाली, गाला, गोल्डेन, फुजी र जोनाप्रिन्स जातका स्याउको खेती हुँदै आएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment