भोटेकोशी बाढी: १२ हजारको उद्धार, १३ सय हाराहारीको शव भेटियो, पाँच हजार अझै बेपत्ता
काठमाडौं। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितमध्ये हालसम्म ५ हजार ३८४ जनाको स्वास्थ्य उपचार गरिएको छ। बाढीका कारण ठूलो मानवीय क्षति हुनुका साथै हजारौँ नागरिक प्रभावित भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार प्रभावितमध्ये ३०४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। यस्तै नेपाली सेनामार्फत ३ हजार २०६ र सशस्त्र प्रहरी बलमार्फत १ हजार ८७४ जनाले उपचार सेवा पाएका छन्।
प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म १२ हजार ३८ जनाको जीवितै उद्धार गरिएको छ, जसमध्ये ३ हजारभन्दा बढी मानिसहरू हाल विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन्। उद्धार गरिएकाहरूलाई सुरक्षित स्थानमा राखी खाना, स्वास्थ्य र आधारभूत सेवा उपलब्ध गराइरहेको प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो।
यसैगरी, बाढीका कारण अझै ५ हजार ८३ जना नागरिक सम्पर्कविहीन रहेका छन्। उनीहरूको खोजीका लागि सुरक्षा निकाय र अन्य सम्बद्ध टोलीहरू तीव्र रूपमा परिचालन गरिएको छ।
विपद्का क्रममा बिहीबार साँझसम्म रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका साथै सीमापारि भारतमा गरी कुल १ हजार २९० जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
केन्द्रीय प्रहरी प्रवक्ता अबिनारायण काफ्लेका अनुसार फेला परेका शवहरूमा ३४ बालक, ४५ बालिका, २५० महिला र ४२७ पुरुष रहेका छन् भने ५३२ वटा आंशिक अङ्गसहितका शव फेला परेका छन्। अस्पतालमा उपचारका क्रममा मृत्यु भएका २ जनालाई पनि यसै विवरणमा समेटिएको छ।
बाढीले अभूतपूर्व जनधनको क्षति पुर्याएकाले हाल सरकार र सुरक्षा निकायको मुख्य प्राथमिकता बेपत्ताको खोजी, घाइतेको उपचार र विस्थापितहरूको तत्कालीन राहत तथा पुनस्थापनामा केन्द्रित रहेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment