रसुवा र नुवाकोटमा आकस्मिक बाढीको उच्च जोखिम

डिसी नेपाल
१९ भदौ २०८३ १०:४१

काठमाडौं। देशका विभिन्न भू-भागमा आज नदी तथा खोलाहरूको बहाव उल्लेख्य रूपमा बढ्ने भन्दै जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

विशेष गरी रसुवा र नुवाकोट जिल्ला भएर बहने नदीहरूमा आकस्मिक बाढी (फ्ल्यास फ्लड) को उच्च जोखिम रहेको महाशाखाले जनाएको छ।

महाशाखाद्वारा जारी पूर्वसूचना अनुसार रसुवा र नुवाकोट जिल्ला भई बहने भोटेकोशी, त्रिशूली नदी तथा आसपासका साना नदी-नालाहरूको जलसतह अत्यधिक बढ्ने प्रक्षेपण गरिएको छ। यी क्षेत्रमा तीव्र बहावसहित आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्र तथा आसपासका बासिन्दालाई विशेष सावधानी अपनाउन सचेत गराइएको छ।

यसै गरी काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरसहित देशका ४० भन्दा बढी जिल्ला भई बहने साना नदी तथा खोलाहरूमा मध्यम जोखिमको चेतावनी दिइएको छ।

कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, तेह्रथुम, सङ्खुवासभा र सोलुखुम्बु तथा बागमती प्रदेशका दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, धादिङ, मकवानपुर र चितवनमा पनि बाढीको जोखिम छ।

त्यसैगरी गण्डकी प्रदेशका गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी र नवलपरासी पूर्व तथा लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम र रुकुम पूर्वमा सतर्क रहन भनिएको छ।

कर्णाली प्रदेशका रुकुम पश्चिम, जाजरकोट, सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, मुगु र हुम्ला तथा सुदूरपश्चिम प्रदेशका अछाम, बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, डडेल्धुरा र कञ्चनपुरका साना नदी तथा खोलाहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढेर आकस्मिक बाढी आउन सक्ने पूर्वामुमान छ।

नदी तथा खोला किनारका होचा भू-भाग, नदी कटानको जोखिममा रहेका क्षेत्र र भिरालो जमिन आसपास बसोबास गर्ने सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

साथै, नदी तटीय क्षेत्रमा कुनै पनि गतिविधि गर्दा विशेष सावधानी अपनाउन र सम्भावित आपत्कालीन अवस्थाका लागि पूर्वतयारीमा रहन स्थानीय प्रशासन तथा सम्बन्धित निकायहरूले अनुरोध गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *