नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट महिलाको जीवितै उद्धार, उपचारका लागि काठमाडौँ ल्याइँदै
काठमाडौँ। नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरभित्रबाट एक महिलाको जीवितै उद्धार गरिएको छ। विदुर नगरपालिका–१० बेत्रावतीस्थित स्थानीय आनन्द श्रेष्ठको पुरिएको घरबाट उनकी श्रीमती चण्डिका श्रेष्ठको सशस्त्र प्रहरी बलको टोलीले जीवितै उद्धार गरेको हो।
सशस्त्र प्रहरी बलका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नेत्रबहादुर कार्कीका अनुसार सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) सुमन विकको कमाण्डमा खटिएको उद्धार टोलीले उनलाई घरको भग्नावशेषबाट जीवितै बाहिर निकाल्न सफल भएको हो।
जीवितै उद्धार गरिएकी चण्डिका श्रेष्ठलाई तत्काल थप तथा गहन उपचारको आवश्यकता परेकाले नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याउने तयारी भइरहेको छ।
जलविद्युत् आयोजना र प्रभावित क्षेत्रहरूमा सुरक्षा निकायले चमत्कारिक रूपमा जीवितै उद्धार गर्ने क्रम जारी राखेका छन्।
यसअघि आजै नेपाली सेनाले अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट एक चिनियाँ नागरिकको जीवितै उद्धार गरेको थियो भने बिहीबार त्रिशूली ३ ‘ए’ को सुरुङबाट १० दिनपछि दुई जना (सञ्जय साह र कविर महर्जन) को सफल उद्धार गरिएको थियो।
बाढी तथा पहिरो प्रभावित क्षेत्रहरूमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले खोजी तथा उद्धार कार्यलाई तीव्रता दिइरहेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment