बाढी प्रभावित क्षेत्रमा चमत्कारपूर्ण उद्धार : सेना, प्रहरी र सशस्त्रको उच्च मनोबलको प्रशंसा

उत्तम सिल्वाल
२० भदौ २०८३ १८:३६

काठमाडौं। नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा स्थानीय विद्युत् केन्द्र तथा घरमा फसेका व्यक्तिको जीवितै उद्धार सम्भव भएको छ।

प्रलयकारी विपद्को यस दुःखद् घडीमा अर्थहीन सल्लाह दिने, नकारात्मक टीकाटिप्पणी गर्ने र विशेषगरी सरकारले केही गरेन भन्ने भाष्य निर्माण गर्ने प्रवृत्ति बढिरहको अवस्थामा नेपाली सेनाको नेतृत्वमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त प्रयासबाट पछिल्लो दुई दिनमा चार जनाको जीवितै उद्धार गरिएको हो।

नेपाली सेनाको नेतृत्वमा शुक्रबार माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् केन्द्रको दुई जना कर्मचारी र आज एक चिनियाँ नागरिक तथा सशस्त्र प्रहरी वल तथा नेपाल प्रहरीको प्रयासबाट नुवाकोट विदुरमा एक जना महिलाको जीवितै उद्धार सम्भव भएसँगै सुरक्षाकर्मीको मेहनत र बहादुरीको सर्वत्र प्रशंसा गरिएको छ।

भोटेकोशी हुँदै त्रिशूली नदीमा भदौ १० गते गएको अकल्पनीय एवं विनाशकारी बाढीले जनधनको अपुरणीय क्षति पुर्‍याएको विषय परिस्थितिका बाबजुद अविचलित भई उद्धारमा खटिएका नेपाली सेनाको विशेष टोली र सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरीले उच्च मनोबलका साथ निर्वाह गरेको उदाहरणीय भूमिकाको स्वदेश तथा विदेशबाट प्रशंसा भइरहेको सामाजिक सञ्जालमा देखिन्छ।

रसुवा बाढीपछि उद्धार टोलीको नेतृत्व गरिरहनुभएका नेपाली सेनाका प्रमुख सेनानी गङ्गा बरालले माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् केन्द्रको सुरुङमा खटिएको उद्धार टोली करिब ११ घण्टाको निरन्तर प्रयासपछि शुक्रबार बिहान दुई जना प्राविधिक कर्मचारीको जीवितै उद्धार गर्न सफल भएको भनी दिएको जानकारीबाट आशा र विश्वास जगाउन तथा क्षमता झल्काउन सफल भएको थियो।

सेना नेतृत्वको टोलीले सो जलविद्युत् केन्द्रमा कार्यरत प्राविधिक सञ्जय साहको बिहान करिब ९ः३५ बजे र कवीरजङ्ग महर्जनको १०ः०५ बजे जीवितै उद्धार गरेको थियो। नेपाली सेनाको ‘स्पेसल फोर्स’ विपद् व्यवस्थापन खोज तथा उद्धार टोली, प्राविधिक इञ्जिनियर, नेपाल विद्युत् प्राधिकरणका प्राविधिक कर्मचारी, जलविद्युत् आयोजनाका विज्ञ तथा भौगर्भिक इन्जिनियरसहितको संयुक्त टोली उद्धारमा खटिएका थिए।

यसैगरी, नेपाली सेना नेतृत्वको टोलीले आज दिउँसो एक चिनियाँ नागरिक र सशस्त्र प्रहरी बलको नेतृत्वमा नुवाकोट विदुरकी चन्द्रिका श्रेष्ठलाई जीवितै उद्धार गरी अर्काे चमत्कार रच्न सफल भएको छ। जीवितै उद्धार हुनेक्रम अझै बढोस् र धेरैको घरपरिवारमा खुसी छाओस् भन्ने कामना गरेको पनि त्यत्तिकै देखिन्छ।

हिमपहिरोसँगै ल्हेन्दे खोलामा यही भदौ १० गते गएको बाढी भोटेकोशी नदीमा मिसिएपछि आसपासमा रहेका व्यक्तिका घर तथा कार्यालय भवन, विद्युत् केन्द्र, सडक तथा पुल, जग्गाजमिनलगायत मानवीय तथा भौतिक क्षति भएको थियो।

भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीले रसुवा र नुवाकोटमा ठूलो जनधनको क्षति पुर्‍यायाएको तथा धादिङ र चितवनमा सडक तथा पुल बगाएसँगै यस क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको छ।

त्यस्तै, जलविद्युत् आयोजनासहित अन्यत्र काम गरिरहेका स्वदेश तथा विदेशका कैयाँै व्यक्ति सम्पर्कविहीन भएका अवस्थामा नेपाली सेना नेतृत्वको उद्धार टोली अहोरात्र खटिरहेको छ।

यसैबीच, खोज तथा उद्धारका क्रममा जङ्गी अड्डाबाट प्राप्त हुने निर्देशन, विद्युत् आयोजनाका कर्मचारी एवं विज्ञबाट प्राप्त हुने सुझावलाई आत्मसात् गर्दै उद्धार टोलीमा संलग्न सुरक्षा फौजलाई उत्साहित बनाई लक्ष्यप्राप्तिका लागि अहोरात्र खटिएको टोलीको नेतृत्वकर्ता प्रमुख सेनानी बरालले बताए।

उनका अनुसार खाना खाएर बिहीबार साँझ ६ः०० बजेदेखि त्रिशूली जलविद्युत् आयोजनाभित्र फसेका व्यक्तिको उद्धार कार्य सुरु भई करिब ११ घण्टाको निरन्तर प्रयासपछि दुई जना कर्मचारीलाई जीवितै उद्धार गर्न सफल भएको हो।

प्रमुख सेनानी बरालले भने, ‘दृढ इच्छाशक्ति र स्वच्छ भावनाका साथ काम गर्ने हो भने जस्तोसुकै विषम परिस्थितिमा पनि कठिनभन्दा कठिन काम गर्न हामी नेपाली सक्षम छौँ। अहिलेको अकल्पनीय रसुवा बाढीमा पनि खटिएर त्यो प्रमाणित गर्न सफल भएका छौँ।’

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले प्रलयकारी एवं महाविपत्को यस दुःखद् घडीमा नेपाल सरकारको निर्देशनमा नेपाली सेनाको नेतृत्वमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीकोसमेत सहयोग, सहकार्य र समन्वय खोज तथा उद्धारको काम तीव्र गतिमा भइरहेको जानकारी दिए। उनले भने, ‘युद्धस्तरमा बाढी प्रभावित क्षेत्रमा खटिएको विशेष उद्धार टोलीले दिनरात नभनी काम गरेर मुलुकको फौजी संरचनासहित नेपाल र नेपालीको प्रतिष्ठा बढाउन सफल भएको छ, यसरी खटिने सुरक्षाकर्मीलाई हौसला प्रदान गर्न हामी सबैको कर्तव्य हो।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *