भोटेकोशीको बाढीले चार जिल्लाका ५५ खानेपानी आयोजनामा क्षति, ६४ करोड नोक्सानीको अनुमान

डिसी नेपाल
२१ भदौ २०८३ ६:४७

काठमाडौं। रसुवास्थित भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखाका गरी कुल ५५ वटा खानेपानी आयोजना प्रभावित भएका छन्। बाढीबाट पुगेको क्षतिको प्रारम्भिक विवरणअनुसार करिब ६४ करोड रुपैयाँ बराबरको भौतिक नोक्सानी भएको अनुमान गरिएको छ।

खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार बाढीको सबैभन्दा ठूलो असर नुवाकोटमा परेको छ, जहाँ २२ वटा खानेपानी आयोजना क्षतिग्रस्त हुँदा मात्रै ४ करोड ११ लाख ५० हजार रुपैयाँ बराबरको नोक्सानी भएको छ।

विभागका महानिर्देशक कमलराज श्रेष्ठका अनुसार बाढीले धादिङका २०, रसुवाका ८ र गोरखाका ५ वटा आयोजनामा क्षति पुर्‍याएको छ। क्षतिको विस्तृत विवरण संकलन गर्ने काम अझै जारी रहेको विभागले जनाएको छ।

बाढीका कारण खानेपानी आपूर्ति ठप्प भएका क्षेत्रमा नागरिकलाई तत्काल स्वच्छ पिउने पानी उपलब्ध गराउन विभागले अल्पकालीन र दीर्घकालीन योजनाहरू तीव्र रूपमा अघि बढाएको छ। वैकल्पिक स्रोतको प्रयोग, मर्मत सम्भार र ट्यांरमार्फत पानी वितरणलाई प्राथमिकता दिइएको महानिर्देशक श्रेष्ठले जानकारी दिए।

विशेष गरी विदुर खानेपानी आयोजना प्रभावित क्षेत्रमा खानेपानी आपूर्ति सहज बनाउन १०० केभिए क्षमताको डिजेल जेनेरेटर सञ्चालन गरी दैनिक करिब ५ लाख लिटर पानी वितरण भइरहेको छ।

त्यसैगरी एक एचपी क्षमताका सातवटा पम्प सञ्चालनमा ल्याएर बट्टार क्षेत्रका करिब ५०० घरपरिवारमा पानी सेवा पुनः सुरु गरिएको छ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) सँगको समन्वयमा भदौ १२ गतेदेखि चारवटा ट्याङ्करमार्फत विदुर र बट्टारका विभिन्न बस्तीमा नियमित पानी वितरण भइरहेको छ।

बाढी प्रभावित अन्य क्षेत्रहरू जस्तै त्रिशूली बजार, बेलकोटगढी, कोल्पुटार, गल्छी, गजुरी र विदुरका बाँकी बस्तीहरूमा खानेपानी सेवा पुर्‍याउन आवश्यक प्राविधिक सामग्रीको व्यवस्थापन भइसकेको छ। यसका लागि विभिन्न क्षमताका १४ वटा पम्प, एक हजार लिटरका हिलटेक ट्याङ्की र करिब ४१.१ किलोमिटर एचडीपीइ पाइप तयारी अवस्थामा राखिएको छ।

विभागका अनुसार प्राविधिक टोलीहरूलाई निरन्तर प्रभावित क्षेत्रमा खटाइएको छ। तत्कालीन राहत स्वरूप आपतकालीन पानी वितरणसँगै क्षति भएका आयोजनाहरूको दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माणका कार्यहरू पनि सँगसँगै अघि बढाइने विभागले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *