विपत्‌मा सामाजिक उत्तरदायित्व: सगरमाथा स्म्यासर्सले जर्सीको मुख्य प्रायोजकको ठाउँमा राख्यो प्रधानमन्त्री कोषको क्युआर

डिसी नेपाल
२१ भदौ २०८३ ७:५४

काठमाडौं। नेपाल भलिबल लिग (एनभीएल) को टिम सगरमाथा स्म्यासर्सले सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण पेस गर्दै जर्सीको मुख्य प्रायोजकको स्थानमा कुनै व्यावसायिक संस्थाको साटो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको क्युआर कोड राखेको छ।

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि बाढीपीडितको उद्धार, राहत तथा पुनस्थापनाका लागि ऐक्यबद्धता जनाउन यो कदम चालिएको टिम प्रमोटर शनि राजभण्डारीले जानकारी दिए। राष्ट्रिय खेल भलिबलप्रतिको आमनागरिकको लगावलाई विपद्को यो कठिन घडीमा देश निर्माण र सहयोगमा जोड्न यस्तो निर्णय लिइएको टिमको भनाइ छ।

सगरमाथा टिमले बाढी प्रभावित क्षेत्रमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै बेपत्ता नागरिकहरूको शीघ्र खोजी, उद्धार तथा प्रभावितहरूको सुरक्षित पुनःस्थापनाको कामना पनि गरेको छ। यस्तो विपत्‌का बेला सबै क्षेत्रबाट हुने सानो प्रयासले पनि राज्यलाई ठूलो बल पुग्ने विश्वास टिमले व्यक्त गरेको छ।

यसअघि प्रतियोगिता आयोजकले पनि मधेश वारियर्सविरुद्धको उद्घाटन खेलको टिकट बिक्रीबाट सङ्कलित सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरिसकेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा जारी पहिलो संस्करणको यस फ्रेन्चाइज लिगको उद्घाटन खेलमा सगरमाथा स्म्यासर्सले मधेश वारियर्सलाई ३–१ को सेटमा पराजित गर्दै विजयी सुरुआत गरेको थियो।

आगामी भदौ २५ गतेसम्म चल्ने यस प्रतियोगितामा ६ वटा टोली सहभागी छन्। सिंगल राउन्ड रोबिन लिगका आधारमा खेलिने प्रतियोगिताको विजेताले नेपाली भलिबल इतिहासकै सर्वाधिक नगद २० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *