पहिरो खस्दा रोल्पाको सहिदमार्ग पूर्ण रूपमा अवरुद्ध

डिसी नेपाल
२१ भदौ २०८३ ८:२८

रोल्पा । गएरातिदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा रोल्पाको घोराही–थवाङ सहिदमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

रोल्पास्थित प्रहरी चौकी कुरेलीका अनुसार परिवर्तन गाउँपालिका–१, खोलावाङमा सडक माथिबाट पहिरो खसेपछि आज बिहानदेखि सहिदमार्ग अवरुद्ध भएको हो ।

सडकमा ठूलो पहिरो खसेपछि घोराही हुँदै रोल्पा र रुकुमतर्फ जाने तथा ती क्षेत्रबाट दाङतर्फ आउने यातायातका साधनहरू बीच बाटोमै रोकिएका छन् । सडक अवरुद्ध हुँदा यात्रु तथा चालकहरू समस्यामा परेका छन् ।

अविरल वर्षा भइरहेकाले पहिरो पन्छाउने काममा समेत कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । सडक खुलाउन सम्बन्धित निकायसँग समन्वय गरी पहिरो हटाउने प्रयास भइरहेको जनाइएको छ ।

सहिदमार्ग अवरुद्ध भएपछि दाङ, रोल्पा र रुकुमबीचको यातायात सेवा प्रभावित भएको छ । वर्षा नरोकिए थप स्थानमा पहिरो खस्न सक्ने भएकाले यात्रु तथा चालकलाई सावधानी अपनाउन आग्रह गरिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *