युट्युबमा सिकेको ज्ञान व्यवहारमा उतार्दै किसानले थाले ड्रागन फ्रुट खेती

डिसी नेपाल
२१ भदौ २०८३ ९:२६

कपिलवस्तु। सामाजिक सञ्जाल तथा युट्युबमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई व्यवहारमा उतार्दै शिवराज नगरपालिका–५ नौडिहवाका किसान रामप्रसाद बेलवासेले व्यावसायिक ड्रागन फ्रुट खेती सुरु गरेका छन्।

करिब डेढ वर्षअघि चार कट्ठा जमिनमा ड्रागन फ्रुट खेती सुरु गरेका बेलवासेले हालसम्म तीन पटक फल उत्पादन गरिसकेका छन्। रुपन्देहीको रानीबगियाबाट ६२८ बिरुवा खरिद गरी १५७ पोलमा चार–चार वटा बिरुवा रोपेर उनले खेती सुरु गरेका हुन्।

बेलवासेले प्रतिबिरुवा रु १६० का दरले बिरुवा खरिद गरेका थिए। बिरुवा अझै पूर्ण रूपमा परिपक्व नभएकाले आगामी दिनमा उत्पादन बढ्ने उनको अपेक्षा छ।

“अहिलेसम्म तीन पटक फल टिपेका छौँ। चौथो पटक फल टिप्ने तयारीमा छौँ। आगामी वर्षदेखि उत्पादन उल्लेखनीय रूपमा बढ्ने अपेक्षा गरेको छु,” उनले भने।

ड्रागन फ्रुटको बजार राम्रो रहेकाले बिक्रीका लागि समस्या नभएको बेलवासेको भनाइ छ। अहिले उत्पादन भएको ड्रागन फ्रुट प्रतिकिलोग्राम रु ४०० सम्ममा बिक्री भइरहेको उनले बताए। उनका अनुसार फल उत्पादन भएपछि ग्राहकहरू आफैँ घरमै आएर खरिद गर्ने गरेका छन्।

युट्युबमार्फत खेती प्रविधिबारे जानकारी लिएपछि आफू नयाँ बालीतर्फ आकर्षित भएको बेलवासेले बताए। उनका अनुसार ड्रागन फ्रुट खेतीमा अहिले मुख्य चुनौती सिँचाइको अभाव हो। रोग तथा कीरा व्यवस्थापनका लागि थप प्राविधिक ज्ञान आवश्यक रहेको उनको भनाइ छ।

चितवनको हावापानी ड्रागन फ्रुट खेतीका लागि तुलनात्मक रूपमा बढी अनुकूल मानिए पनि कपिलवस्तुमा उचित व्यवस्थापन गर्न सके राम्रो उत्पादन लिन सकिने बेलवासेको अनुभव छ। जिल्लामा अत्यधिक गर्मी हुने भएकाले भने खेती व्यवस्थापनमा केही कठिनाइ हुने गरेको उनले बताए।

कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख घनश्याम चौधरीका अनुसार जिल्लामा ड्रागन फ्रुट खेतीको क्षेत्रफलसम्बन्धी यकिन अभिलेख छैन। यद्यपि, पछिल्लो समय किसानले साना तथा छरिएर ड्रागन फ्रुट खेती सुरु गर्न थालेका छन्।

व्यावसायिक सम्भावना, राम्रो बजार र आकर्षक मूल्यका कारण किसानमा ड्रागन फ्रुट खेतीप्रति आकर्षण बढ्दै गएको चौधरीले बताए।

परम्परागत बालीसँगै नयाँ तथा बढी आम्दानी दिन सक्ने फलफूल खेतीतर्फ किसान आकर्षित हुन थालेसँगै कपिलवस्तुमा पनि ड्रागन फ्रुट खेती विस्तार हुने सम्भावना देखिएको छ। आधुनिक प्रविधिबारे सामाजिक सञ्जालबाट जानकारी लिएर त्यसलाई व्यवहारमा लागू गर्ने किसानको संख्या बढ्दै जाँदा जिल्लामा वैकल्पिक तथा व्यावसायिक कृषि उत्पादनको सम्भावना समेत विस्तार हुँदै गएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *