रुस-युक्रेन युद्ध अन्त्यका लागि अमेरिकी टोलीद्वारा पुटिनसँग ‘गम्भीर’ छलफल
किभ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष प्रतिनिधिहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटघाट गरी रुस-युक्रेन युद्ध अन्त्य गर्ने विषयमा ‘गम्भीर र महत्त्वपूर्ण योजना’ माथि छलफल गरेका छन्। मस्कोको वार्तापछि अमेरिकी टोली आइतबार युक्रेनको राजधानी किभतर्फ लागेको ह्वाइट हाउसले जनाएको छ।
ट्रम्पका व्यावसायिक साझेदार स्टिभ विटकफ र उनका ज्वाइँ जेरेड कुश्नर दोस्रो विश्वयुद्धपछिको युरोपकै सबैभन्दा भयावह द्वन्द्व अन्त्यका लागि पुनः वार्ताको वातावरण बनाउने उद्देश्यले मस्को पुगेका हुन्। सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि सुरु भएको यो युद्धमा लाखौँ मानिसको मृत्यु भइसकेको छ भने ठूलो संख्यामा विस्थापित भएका छन्।
ह्वाइट हाउसका अनुसार विटकफ र कुश्नरले ट्रम्पको “शान्ति एजेण्डा” लाई अघि बढाउन शनिबार पुटिनसँग भेट गरेका हुन्। भेटमा आगामी कदमहरूबारे गम्भीर छलफल भएको र त्यसको विस्तृत विवरण आउँदा हप्ताहरूमा सार्वजनिक गरिने बताइएको छ।
रुसी राष्ट्रपतिका सल्लाहकार युरी उसाकोभले वार्ता अति नै खुला र स्पष्ट भएको बताएका छन्। अमेरिकी प्रतिनिधिहरूले शान्ति सम्झौताका लागि केही विचारहरू प्रस्तुत गरेको भए पनि त्यसको विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
यद्यपि, रुसले पूर्वी युक्रेनका बाँकी भूभाग नियन्त्रणमा लिने आफ्ना सैन्य लक्ष्यहरू पूरा गर्ने कुरामा मस्को विश्वस्त रहेको जानकारी अमेरिकी टोलीलाई गराएको उसाकोभले बताए।
यो वार्ताका लागि वातावरण बनाउन रुस र युक्रेन दुवै पक्ष एक-अर्काको राजधानीमा तीन दिनसम्म आक्रमण नगर्न सहमत भएका छन्।
विटकफ र कुश्नरको युद्ध सुरु भएयता मस्कोतर्फ यो आठौँ भ्रमण भए पनि युद्धको मार खेपिरहेको युक्रेनी राजधानी किभको भने यो पहिलो भ्रमण हो। पोल्याण्ड हुँदै रेलमार्फत उनीहरू किभ प्रस्थान गरिसकेको र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले उनीहरूलाई स्वागत गर्न लागेको बताइएको छ।
पुटिनद्वारा ट्रम्पको प्रशंसा
वार्ताअघि टेलिभिजनमा प्रसारित टिप्पणीमा पुटिनले मध्यस्थकर्ताहरूको सुरक्षाको पूर्ण ग्यारेन्टी रुसले लिने बताए। साथै, युद्ध अन्त्यका लागि लगातार प्रयास गरिरहेकोमा उनले ट्रम्पलाई धन्यवाद दिँदै यस्ता सम्पर्कहरू सधैँ लाभदायक हुने बताएका छन्।
ट्रम्पले पनि शुक्रबार आफ्ना प्रतिनिधिहरूले युद्ध रोक्ने सम्भावित प्रस्ताव लिएर गएको र आफूहरूसँग शान्तिको स्पष्ट अवधारणा रहेको बताएका थिए।
सीमित युद्धविराम
वार्ता अवधिभर दुवै पक्षले एक-अर्काका राजधानीमा आक्रमण रोक्न प्रतिबद्धता जनाएका छन्। रुसी राष्ट्रपति पुटिनले मध्यरातिदेखि किभमा तीन दिनसम्म आक्रमण नगर्न निर्देशन दिएका छन् भने जेलेन्स्कीले पनि मस्कोमा हमला नगर्ने वचन दिएका छन्।
तथापि, किभका अनुसार शनिबार रुसी आक्रमणबाट देशका विभिन्न भागमा १० जनाको मृत्यु भएको छ। जेलेन्स्कीले मस्कोले अमेरिकी प्रतिनिधिहरूको भ्रमण बिथोल्न किभका विमानस्थल र नागरिक बस्तीहरूमा रातभर आक्रमणको प्रयास गरेको आरोप लगाएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment