भूकम्पले रोकिएको नित्य प्रवचन ११ वर्षपछि सुरु
काठमाडौं। वि.सं. २०७२ वैशाख १२ गतेको भूकम्पपछि बन्द भएको हनुमानढोका दरबार उत्तर दलानको नित्य आध्यात्मिक कथा प्रवचन ११ वर्षपछि पुनःसुरु भएको छ। गुठी संस्थानअन्तर्गत रहेको गीता स्वाध्याय सङ्गम सनातन धार्मिक प्रवचन गुठीले यहाँ राणाकालदेखि नित्य आध्यात्मिक प्रवचन गर्दै आएको थियो।
नित्य प्रवचन हुँदै आएको हनुमानढोका दरबार क्षेत्रको उत्तर दलान पुनःनिर्माण सम्पन्न भएपछि यही भदौ १४ गतेदेखि श्रीमद् भागवत भक्ति ज्ञान महायज्ञमार्फत ११ वर्षपछि कार्यक्रम सुरु गरिएको हो। भदौ २८ गतेसम्म महायज्ञ सञ्चालन गरिने र त्यसै क्रममा दैनिक दुईदेखि तीन घण्टासम्म नित्य प्रवचन कार्यक्रम पनि सञ्चालन भइरहेको गुठीका अध्यक्ष पण्डित मधुसुदन पौडेलले जानकारी दिए।
स्थापनाकालमा हनुमानढोकाको विभिन्न स्थानमा नित्य प्रवचन हुँदै आएकामा राजा महेन्द्रको कार्यकालमा दरबारको उत्तर दलानमा यो कार्यक्रम गर्ने स्थान उपलब्ध गराइएको थियो। प्रत्येक वर्षको शारदीय नवरात्रमा यहाँ श्रीमद्देवी भागवत कथा हुने गरेको थियो।
त्यसबेलाको प्रसाद तत्कालीन राजाकहाँ पुर्याउने गरिएको गुठीका अध्यक्ष पौडेलले बताए। राजतन्त्रको अन्त्यपछि भने यो प्रसाद शीतल निवास लैजाने गरिएको छ। नित्य प्रवचन गर्न संस्थानको काठमाडौं शाखाले मासिक रु एक हजार ६०० दिने गरेको छ। बाँकी खर्च भने प्रवचन गुठीले जुटाउने गरेको उनले जानकारी दिए।
काठमाडौं महानगरपालिका–२४ का वडाध्यक्ष विनोदकुमार राजभण्डारीले प्रवचन पुनःसञ्चालन गर्न विशेष सहयोग गर्नुभएको प्रवचन गुठीले जनाएको छ। जयदेव पौडेलले सुरु गरेको हनुमानढोका दरबार क्षेत्रको नित्य प्रवचनलाई अर्जुनप्रसाद धिताल, मधुसुदन रिसाल, गोविन्द भट्टराईलगायत पण्डितले निरन्तरता दिँदै आउनुभएको गुठी संस्थानले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment